प्रमुख समाचार

'हदबन्दीभन्दा बढी जग्गा राज्यले सार्वजनिक हितमा उपयोग गर्नुपर्ने'

इकागज |
साउन २७, २०७८ बुधवार १८:० बजे

काठमाडौँ - नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा उनले हदबन्दीभन्दा बढीको जग्गा राख्‍नेलाई निरुत्साहित गर्दै जग्गा बढी राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताए । 

उनले औधोगिक क्षेत्रका लागि भन्दै बढी जग्गा राख्‍ने र पछि भूमाफियाले चलखेल गर्ने गरेको बताए । जग्गा सट्टापट्टाका लागि लाखौंको चलखेल हुने गरेको उनको भनाइ थियो । उनले झापाको गिरी बन्धु टि स्टेटलाई ओली सरकारले सट्टापट्टाका लागि अनुमति दिएको भन्दै आपत्ती जनाए । देवले १६९ वटा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेको भन्दै राज्यले कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे । 


एमाले सांसद कोमल वलीले सरकारलाई भ्रष्टाचारसम्बन्धी घटनाको छानबिन गर्न माग गर्दै विगतका सरकारले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिन आग्रह गरिन् । उनले कोभिडविरुद्धको खोप लगाउनमा ढिलाइ भएको भन्दै जनतालाई निःशुल्क स्वास्थ्यको सहज व्यवस्था गर्नसमेत माग गरिन् । उनले सत्ता गठबन्धनले एमाले फुटाउन खोजेको आरोप पनि लगाइन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएको छ । बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन २८ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।

 


Author

थप समाचार
x