अफगानिस्तानमा रहेका नेपालीहरू सरकारको सम्पर्कमा आउन थाले
तालिवानद्वारा नेपालीसहित विदेशीलाई मुलुक छाड्न आदेश
फाइल तस्बिर
काठमाडौँ - अफगानिस्तानमा रहेका नेपालीहरू धमाधम सरकारको सम्पर्कका आएका छन् । उनीहरूलाई तालिवानले अफगानिस्तान छोड्न आदेश दिएपछि सरकारको सम्पर्कमा सम्पर्कमा आएका हुन् । उद्धारको प्रतिक्षा गरिरहेका एक सय ३४ नेपाली सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि सामाजिक सञ्जाल, सम्पर्क सञ्जालहरू भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बर दिएपछि नेपालीहरू लगातार सम्पर्कमा आएका हुन् ।
यसअघि पाकिस्तानमा समेत राजदूत रहिसकेकी परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार नेपालीहरू धमाधम सम्पर्कमा आएकाले उद्धारको लागि छलफल चलिरहेको बताइन् । उद्धारका लागि परराष्ट्र मन्त्रालयबाट संयोजनकारी भूमिकामा रहेका हरिशचन्द्र घिमिरेले अहिलेसम्म १३४ जना सम्पर्कमा आएको र अन्य पनि आउने आशा राख्दै तत्काल उद्धार प्रक्रिया अघि बढ्ने बताए ।
कतिपय आफन्तबाट त कतिपयले स्वयं सम्पर्क गरेर जानकारी दिएको पनि उनले बताए । ‘अफगानिस्तानमा रहनुभएका नेपालीहरूका बारे जानकारी आउने क्रम जारी नै छ,’ घिमिरेले भने, ‘छिट्टै उद्धारको काम सुरु हुनेछ । हामी मिलाउने क्रममा छौँ ।’
अफगानिस्तानमा नेपालको कूटनीतिक सम्पर्क नै खासै छैन । किनकी राजदुतले ओहोदाको प्रमणपत्र बुझाएका छैनन् । अन्य संयन्त्रलाई त्यहाँबाट सम्बोधन गर्ने कुरा भएन, परराष्ट्र एक अधिकारीले भने, ‘यस्तै बेलाको लागि भनेर राजदूतावास नभए पनि त्यो मुलुकको लागि राजदूत तोक्ने हो । यदि राजदूतले सहमति (आग्रिमा) समेत नलिने हो भने किन तोक्न पर्यो र ?’
दिल्ली स्थित नेपाली दूतावासले अफगानिस्तान हेर्छ । अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने व्यवस्था भने परराष्ट्र मन्त्रालय स्वयंले गर्न परेको छ । अवैधा रूपमा अफगानिस्तान गएका श्रमिकहरू त्यहाँ अलपत्र परेको हुनसक्ने आशंकामा विवरण तयार गर्न मन्त्रालय लागि परेको छ ।
परराष्ट्र मन्त्रालयले आफ्नो औपचारिक कूटनीतिक च्यानल नभएपछि काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ ।
स्वदेश फर्काउन नेपाल सरकारले राष्ट्रसंघका कार्यालयहरू, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, ईयू / जापानलाई औपचारिक पत्राचार समेत गरिसकेको छ । उनीहरूले पनि नेपालीलाई मद्दत गर्ने बताएका छन् । त्यस्तै नेपालले भारतलाई पनि आफ्ना नागरिक फर्काउँदा नेपालीलाई समेत ध्यान दिन भनेको छ ।
कतिपयलाई अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । होटलबाट विमानस्थल आउने क्रममा कैयन नेपाली रहेका छन् । तालिवानले होटल छोड्न भनेको छ । सोमबार व्यवसायिक उडानहरू बन्द हुनाले चार्टर उडान पर्खेका छन् । सैन्य विमानले चार्टर गरेर अन्यत्र लैजाने काम गरिरहेको छ । नेपालले त्यो तारतम्य मिलाउन सहज भने छैन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया