प्रमुख समाचार

कोभिड नियन्त्रणमा स्थानीय तहको मनपरी

पीपीई खरिदमा १० हजारसम्मको अन्तर, थर्मोमिटरमा १३ हजारसम्म

अनिष भट्टराई |
भदौ ८, २०७८ मंगलबार १७:५० बजे

पोखरा-  एउटै स्वास्थ्य सामग्री खरिद गर्दा गण्डकीका स्थानीय तहहरुले खरिद गरेको रकममा आकास जमिनको फरक पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनले गण्डकीका पालिकाहरुले आकास जमिनको फरक हुने गरी स्वास्थ्य सामग्री खरिद गरेको देखाएको छ । 

शहिद लाखन गाउँपालिका गोरखाले पीपीई खरिद गर्दा १ हजार ९२१ रुपैयाँको दरले ३० थान खरिद गरेको छ । तर तनहुँको देवघाट गाउँपालिकाले भने पीपीईलाई १० हजार रुपैयाँको दरले ६ थान खरिद गरेको छ । यस्तै पीपीई खरिदमा अरु पालिकाको मूल्य फरक-फरक छ । बारपाक सुलिकोट गाउँपालिका, गोरखाले २ हजार ९५ को दरले खरिद गरेको छ भने तनहुँको व्यास नगरपालिकाले ६ हजार ८६ को दरले खरिद गरेको पाइएको छ । यसरी एकै प्रकृतिको सामानको मूल्यमा धेरै फरक देखिनु उचित नभएको महालेखाले जनाएको छ । 


मास्क खरिद गर्दा पनि पालिकाहरुबीच रकममा भेरियसन देखिएको छ । ऋषिङ गाउँपालिकाले प्रति थान १४५ को दरले ७०० थान केएन ९५ मास्क खरिद गरेकोमा महाशिला गाउँपालिका पर्वतले भने सोही मास्कलाई ४९० को दरले किनेको छ । कुश्मा नगरपालिका पर्वतले सो मास्कलाई ४५०, शुक्लागण्डकी नगरपालिका तनहुँले ४८३ का दरले खरिद गरेको छ ।

यस्तै गल्याङ नगरपालिका स्याङ्जाले ३५ रुपैयाँको दरले सर्जिकल मास्क खरिद गर्दा कालिगण्डकी गाउँपालिका स्याङ्जाले ८ रुपैयाँको दरले किनेको पाइएको छ । वालिङ नगरपालिका स्याङ्जा, गोरखा नगरपालिका गोरखा लगायत अन्य स्थानीय तहले १० रुपैयाँको दरले खरिद गर्दा मालिका गाउँपालिकाले भने ३५ रुपैयाँको दरले किनेको छ । 

इन्फ्रारेड थर्मोमिटर खरिदमा पनि ५ सय देखि ११ हजार रुपैयाँसम्म फरक पर्ने गरी खरिद गरिएको छ । गोरखा नगरपालिकाले थर्मोमिटरलाई १ हजार रुपैयाँको दरले किनेको छ भने देवघाट गाउँपालिकाले १० हजार रुपैयाँको दरले ८ थान थर्मोमिटर खरिद गरेको छ । धवलागिरी गाउँपालिका म्याग्दीले यही थर्मोमिटरलाई १२ हजारको दर लगाएको छ भने गलकोट नगरपालिकाले १० हजार र बरेङ गाउँपालिकाले ११ हजारको दरले खरिद गरेका छन् ।

सुन्दरबजार नगरपालिकाले भने यो थर्मोमिटरलाई ५ सयको दरले खरिद गरेको छ । यसरी पालिकाहरुले स्वास्थ्य सामग्री खरिद गर्दा दरमा अत्याधिक अन्तर देखिएको महालेखाले जनाएको छ । सामग्री मितव्ययी तवरले खरिद भएको आश्वस्त हुने अवस्था नरहेकाले फ्रेमवर्क सम्झौता गरी सरकारका सबै निकायले सोही दरमा तोकिएको गुणस्तरमा सामान खरिद गर्ने व्यवस्था गर्न महालेखाले सुझाएको छ । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x