प्रमुख समाचार

झण्डै नौ महिनापछि खुल्यो नेपाल-भारत उडान

इकागज |
मंसिर २५, २०७७ बिहीबार १६:२१ बजे

काठमाडौं : कोरोना भाइरस महामारी नियन्त्रणका लागि बन्द भएको भारतसँगको हवाई सम्पर्क झण्डै नौ महिनापछि खुल्ने भएको छ । भारतीय नागरिक उड्ययन मन्त्रालयले नेपालको प्रस्ताव स्वीकार गरेपछि दुवै देशका राष्ट्रिय ध्वजाबहाकले एक अर्को देशमा उडान गर्ने भएका छन् । शुरुवा दुवैतर्फबाट एक-एक ओटा उडान हुनेछ ।

एयर ट्रान्सपोर्ट बबल संयन्त्र अन्तर्गत दिल्ली र काठमाडौंबीच नियमित उडान हुन लागेको हो । उडान तालिका भने नेपाल वायु सेवा निगम र एयर इण्डियाले छिट्टै सार्वजनिक गरेका छन् । दुवै देशले उक्त संयन्त्र अन्तर्गत उडानमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना भाइरस परिक्षणको रिपोर्ट तथा हवाइ उडानमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्नु पर्नेछ ।


नेपाल एयरलाइन्स र एयर इण्डियाले एक अर्को देशमा उडानका लागि समय तय गर्नेछन् र टिकट बुकिङ खुला हुनेछ । टिकट बुकिङ र समयतालिका तय गरी एकसाता भित्रै दिल्ली उडान गर्ने नेपाल एयरलाइन्सको तयारी रहेको प्रवक्ता करिष्मा श्रेष्ठले बताइन् ।

नेपालले महामारी नियन्त्रणमा नआउँदासम्म दुवै देशबाट दैनिक एक-एक ओटामात्र व्यावसायिक उडान गर्ने प्रस्ताव गत साता पठाएको थियो । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको भ्रमणको पूर्वसन्ध्यामा नेपालले मंसीरको दोस्रो साता दुवै मुलुकबीच हवाई उडान सुचारु गर्ने घोषणा गरेको थियो । 


Author

थप समाचार
x