सशस्त्र द्वन्द्वका वेपत्ता परिवारको रोदन- कि सास देउ, कि लास देउ !
जनकपुरधाम – सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवार सदस्यहरूले आफन्तजनको सास या लास चाहिने माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार विश्व बेपत्ता विरुद्धको दिवसका अवसरमा धनुषाका पीडित परिवारले बेपत्ता आफन्जनको सास या लासको माग गर्दै प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलासमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी बास्तोलासमक्ष ज्ञापन पत्र बुझाउँदै राज्यद्वारा वा आतङ्ककारीद्वारा बेपत्ता पारिएका सदस्यको जीवीत शरीर या लास उपलब्ध गराउन पीडित परिवार सदस्यले माग गरेका हुन् । देशको राजनीतिक व्यवस्था परिवर्तन भई संविधान र संघीयता आएसँगै बेपत्ताहरूको सम्बन्धमा तत्कालै छानबिन हुने यसअघिका सरकारले बताउँदै पाए पनि बेपत्ता छानबिनका लागि सरकारले ठोस कदम नचालेको पीडित परिवारको गुनासो छ ।
‘यसअघिका सरकारले संविधान बनेपछि, देशमा संघीयता आएपछि बेपत्ताहरूको छानबिन गरिने आश्वासन दिँदै आएको थियो । तर संघीयता आएको सात वर्ष बितिसक्दा पनि राज्य पक्षले कुनै चासो लएको छैन,’ बेपत्त परिवारका सदस्य वीरेन्द्र यादवले भने, ‘सशस्त्र संघर्ष अन्त्य भएको डेढ दशक बितिसके पनि राज्यद्वारा बपत्ता पारिएका आफन्तको खोजी गर्न सकेको छैन ।’
बेपत्ता पारिएका आफन्तजनको खोजीका लागि सरकारलाई दबाब दिन डेढ दशकदेखि राज्य पक्षलाई ज्ञापन पत्र बुझाउँदै आए पनि त्यसमा सरकारले चासो नलिएको पीडित परिवारको दुःखेसो छ । ‘राज्य पक्षबाट आफुहरूले क्षतिपूर्ति स्वरूप केही रूपैयाँ पाएका थियौं । तर सरकारले नागरिकको ज्यान पैसामा किन्न मिल्छ ? हामीलाई रूपैयाँ होइन आफन्तजनको जीवित या मृत शरीर चाहिन्छ,’ यादवले भने । महोत्तरी सोनमा गाउँपालिका वडा नम्बर २ का वीरेन्द्र कुमार यादव माओवादी सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीको सर्लाही जिल्लाका एरिया एरिया कमिटी मेम्बर थिए ।
तत्कालीन समयमा वीरेन्द्र माओवादीमा लागेका थिए । तर नेपाली सेनाले २० कार्तिक ०६० सालमा उनको घरबाट बुवा, काका, २ भाइसहित ७ जना पक्राउ गरेको थियो । ‘त्यो दिनदेखि अहिलेसम्म आफन्तको न लास पाएको छौं न सास नै । यदी मृत्यु भइसकेको भए पनि हामीले लास त पाउनु पर्छ नि । धार्मिक रीतिअनुसार काजकिरिया नगरी यत्तिकै कहिलेसम्म बस्ने ?’ उनले प्रश्न गरे ।
माओवादीको सशस्त्र द्वन्दमा धनुषाबाट ११ जना बेपत्ता पारिएका थिए । जसमध्ये जनकपुरबाट बेपत्ता पारिएका वर्षौपछि शवका अस्थी भेटिएको थियो । प्रदेश नम्बर २ को सप्तरीबाट २८, सिरहाका ३७, महोत्तरीका ११, सर्लाहीका १७, रौतहटका २०, बाराका १२ र पर्साका १७ गरी १ सय ४८ जना बेपत्ता पारिएका थिए । शान्ति सम्झौता पनि भएको लामो समय बितिसक्दा पनि आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था सार्वजनिक नहुनुले पीडा धनुषाको मिथिला नगरपालिका लालगढकी सिर्जना शाही दुःखेको पोख्छिन् ।
‘के गरौं म विधवा को जीवन बिताऔं कि सधवाको जीवन बाँच्नु दोधारमा छु, यदि उहाँको हत्या भयो भने राज्यले स्पष्ट भन्दिनु प¥यो । जिउँदै हुनुहुन्छ भने परिवारको जिम्मा लगाइदिनु प¥यो,’ उनले भनिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया