प्रमुख समाचार

किन रोए उनीहरू ?

घनश्याम, योगेश र रामकुमारीको रुवाबासी !

इकागज |
भदौ १५, २०७८ मगलवार ९:५५ बजे

काठमाडौं - पटक-पटक विभाजनको चोट व्यहोर्दै आएको नेकपा (एमाले) फेरि टुक्रिएको छ । विभाजनले दुवैतिरका नेताकार्यकर्ताको मुहारमा न खुसी छ नत उत्साह नै । एमाले विभाजनपछि माधवकुमार नेपालले नेकपा (एकीकृत समावादी) गठन गरेका छन् । पार्टी विभाजनपछि भएका दुवै पार्टीका नेताहरूबीचको औपचारिक र अनौपचारिक छलफलमा नेताहरूबीच सैद्धान्तिक र कार्यदिशाको बहस भएको छैन । छ त केवल एकआपसमा चित्त दुखाइ र आँसु खसाल्ने काममात्र । दुःख र आँशुका केही प्रसंग यस्ता छन् । 

अनि रोइन् रामकुमारी झाँक्री
माधव नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका बेला निर्वाचन आयोगमा रामकुमारी झाँक्रीले माधव नेपालको हात समातेको विषय सामाजिक  सञ्जालमा खुबै चर्चा भयो । कतिपयले नेपाललाई झाँक्रीले पार्टी फुटाउन लतारेरै लगिन् भन्नेसम्मका टिप्पणी गरे । तर, झाँक्रीको अन्तरमन भने फुटबाट पटक्कै खुसी छैन ।


विभाजन अघिसम्म उपमहासचिव घनश्याम भुसालसहितका १० स्थायी कमिटी सदस्य माधवकै पक्षमा थिए । तर, विभाजनको संघारमा उनीहरूले नेपालको साथ छोडे । युवा पुस्ताका समकालीन र केहीको जुनियर मानिने झाँक्री माधव खेमामा पुगिन् । पार्टी फुटे पनि समकालीन र युवा पुस्ताका अग्रज नेतासँग उनको साथ छुट्ने कुरै भएन । झाँक्री घनश्यामलाई भेट्न उनकै नेतृत्वमा रहेको नेपाल अध्ययन केन्द्रमा भेट्न पुगिन् । 

घनश्यामसँग सामान्य शिष्टाचारपछि सुरु भयो झाँक्रीको गुनासो । सँगै रहेका एक नेताले बताएअनुसार सुरुमा झाँक्रीले पार्टी फुटेकामा घनश्यामसँग चित्त दुखाइन् । लगत्तै युवा पुस्ताका आफ्ना समकक्षी र आफूभन्दा सिनियर नेताको साथ छुटेकोमा दुःखी पनि भइन् । घनश्यामले जब नेपालका केही कमीकमजोरी र आफूले साथ छोड्नु परेको बाध्यता सुनाए, झाँक्रीले तरक्क आँसु खसालिन् । झाँक्रीको भनाइ थियो, ‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ ।’ 

ती नेताकाअनुसार त्यसपछि अनौपचारिक संवादमा बसेका सबै नेताका आँखा रसाए । तर, कसैले पनि एकअर्कालाई दोष दिएनन्  । गाली गरे त मात्र मूल नेतृत्वलाई ।

अखिलका नेतामाझ झरेको घनश्याम र योगेशको आँसुु 
झाँक्रीले घनश्याम भुषालसमक्ष आँसु खसालेको भोलिपल्ट अर्थात् १३ भदौमा भुसाल र योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताले छलफल गरे, नेरास्ववियुका पूर्वपदाधिकारीसँग । पूर्वपदाधिकारी सचिवालयका सदस्यसमेत गरेर ५४ जना अखिलका नेताकार्यकर्तासँग घनश्याम र योगेशले पालैपालो पार्टी विभाजन र मूल पार्टीमै बस्नुपर्ने बाध्यताबारे तीन घन्टा कार्यकर्तालाई आश्वस्त पारे ।

भट्टराईले नेपालको साथ किन छोड्नपर्‍यो भनेर बताइरहँदा प्रसंग झिके चीनका लागि पूर्वराजदूतसमेत रहेका नेता टंक कार्कीको । नेपालले भूमिगतकालमा कार्कीलाई १० वर्षभन्दा बढी समय कसरी भूमिकाविहीन बनाए भनेर बेलीविस्तार लगाए, योगेशले । र, उनले कार्कीजस्ता थुप्रै नेताको प्रसंग निकाल्दै निस्कर्ष सुनाए- यसरी नै अन्याय गर्छन् माधवले, त्यहीँ भएरसँगै बस्न सकिएन । 

भुसालले सैद्धान्तिक विषय उठान गर्दै नेपालसँगको सहकार्य टुट्नमा आफ्नो अन्तिमसम्मको कसरत फेल भएको र रोएर छुट्टिनुपरेको बताए । उनको भाषणको बीचैमा उठिन् अखिलकी पूर्वउपाध्यक्ष भक्तकुमारी लामा । लामाको प्रश्न थियो, ‘भोलि केपी ओलीसँग फेरि रोएर छुट्टिनुपर्ने दिन आयो भने के गर्ने कमरेड?’ भेलामा सहभागी अखिलका एक नेताकाअनुसार भुसालले यसको स्पष्ट जवाफ त दिएनन् । तर, पार्टीभित्रै संघर्ष गर्नुको विकल्प अब नरहेको सुनाए । 

गोकर्णहरू पनि रोए 
पार्टी एकताका लागि गठीत कार्यदलले गरेको १० बुँदे सहमतिमा नेपाललाई मनाउन नेपाल निवास कोटेश्वर धाइरहेका थिए, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरू । संवादका क्रममा नेपालले अघिल्लो दिन ‘पावर सेयरिङ’सहित १० बुँदेमा सहमति जनाएका थिए । 

विवाद मिलाउन सक्रिय नेताहरू उत्साहित हुँदै घर फर्किए । तर, भोलिपल्ट बिहानै नेता नेपालले फोन गरेर बोलाए विष्ट, पाण्डेलगायतका नेतालाई । त्यो भेटमा सहभागी एकजना नेताकाअनुसार नेपालले फेरि अघिल्लो दिनको सहमतिमा केही सैद्धान्तिक र व्यवहारिक प्रश्न उठाउँदै एकतामा जान नसिकने बताए । 

हतास भएका नेताहरूले नेपालकै अघि आँसु खसाल्दै अब धेरै विवाद नगरौँ भने तर नेपालले अडान छाडेनन् । अन्ततः पार्टी विभाजन भएरै छाड्यो । ती नेताकाअनुसार नेपाल निवासमा सबैभन्दा बढी चित्त दुखाएर आँसु झार्ने नेता भने गोकर्ण थिए । न्युज कारखाना


Author

थप समाचार
x