नाफा घटेपछि कुलमानको नजर इन्टरनेट सेवा प्रदायकतिर
सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकको तार काटिने
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले नाफा घट्न थालेपछि आफ्नो आम्दानीमा असर पार्ने विषयको पहिचान गर्न सुरु गरेको छ । प्राधिकरणले अप्टिकल फाइबर प्रयोग गरि भाडा नतिर्ने टेलिफोन इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गरेर यसको सुरुवात गर्ने भएको छ । बुधबार प्राधिकरणले सार्वजनिक सूचना नै जारी गर्दै नविकरण नगर्ने र भाडा नतिर्ने सेवा प्रदायकको तार हटाउने अभियान सुरु गरेको जानकारी दिएको छ ।
प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा ट्रान्समिसन टावरहरूमा जडित अप्टिकल फाइवर भाडामा लिई टेलिफोन इन्टरनेट सेवा सञ्चालन गर्ने केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको जानकारी दिएको छ । केहि सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी समयमा नविकरण नगरेको प्राधिकरणको ठहर छ । केहि सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी समेत गरेको उल्लेख छ ।
यस्ता गतिविधिले विद्युत प्राधिकरणको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको प्राधिकरणले बताएको छ । त्यस्ता सेवा प्रदायकहरूलाई नयाँ सेवा विस्तार गर्न रोक लगाउने तथा विद्युत प्राधिकरणको पोलमा जडान गरेको तार तथा उपकरणहरू हटाउने अभियान सुरु गर्न लागिएको उल्लेख छ ।
विद्युत् प्राधिकरणको गत आर्थिक वर्षको खुद मुनाफा ६९.९४ प्रतिशतले घटेको छ । प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उसको खुद मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ भएको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो । यो रकम करपछिको हो ।
गत वर्ष प्राधिकरणले ७१ अर्ब २८ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो । अघिल्लो वर्ष विद्युत् विक्रीबापत प्राधिकरणले ७६ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले कमी हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया