प्रमुख समाचार

बेलायती महारानीले नेपालको पूर्वराजा वीरेन्द्रलाई उपहार दिएको सुनौलो बग्गी सार्वजनिक

इकागज |
भदौ २१, २०७८ सोमबार १५:४२ बजे

काठमाडौँ - नारायणहिटी दरबार संग्रहालयमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ ।सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् । उक्त गोल्डेन बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएको संग्रहालयले जनाएको छ ।

राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै संग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता सामाग्री चरण-चरणमा सार्वजनिक गर्ने गरिएको छ ।


कार्यक्रममा सचिव कोइरालाले राजा महाराजाले प्रयोग गरेका बग्गी, सवारीसाधान लगाएतका वस्तुलाई क्रमश प्रदर्शनमा राख्ने बताए । ऐतिहासिक महत्वको क्षेत्र नारायणहिटीलाई थप अनुसन्धान खोजका लािग मास्टर प्लान बनाएर नै अघि बढ्ने योजना रहेको उनकाे भनाइ छ ।

त्यस्तै नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले २०७८ सालको निजामति सेवा दिवसका अवसरमा गोल्डेन बग्गी प्रदर्शनी गरिएको बताए । उनले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बकिंघम दरबारमा रहेको जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ । दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् । 


Author

थप समाचार
x