प्रमुख समाचार

माइबेनी जलविद्युत आयोजनाको परीक्षण उत्पादन शुरु

इकागज |
भदौ २२, २०७८ मंगलबार १७:२२ बजे

काठमाडौँ ः ऊर्जा डेभलपर्सको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्वारा ईलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले परीक्षण उत्पादन आरम्भ गरेको छ । 

आयोजनाले नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहबरमा विभिन्न चरणको परीक्षणको कार्यहरु सम्पन्न गरेको कम्पनीले आज मंगलबार जारी गरेको पे्रस विज्ञप्तिमा उल्लेख छ ।  आयोजनाले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम नेपाल विद्युत प्राधिकरणलाई १५ दिनका लागि निशुल्क विद्युत उपलब्ध गराउने छ । 


निःशुल्क विद्युत् आपूर्ति गर्ने अवधि सम्पन्न गरेपश्चात् आयोजनाले व्यापारिक उत्पादन आरम्भ गर्नेछ । आयोजनाले वार्षिक ५३.२८ गिगावाट घण्टा (५ करोड २३ लाख ८० हजार युनिट) विद्युतीय ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा थप योगदान गर्ने भएको छ । 

त्यसैगरी, सामलिङ्ग पावर कम्पनीले सार्वजनिक निष्काशन गर्न लागेको माइबेनी जलविद्युत आयोजनाको कूल १२ लाख ३० हजार कित्ता सधारण शेयर (आईपीओ) मध्ये आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय वासिन्दा लक्ष्यित पाँच लाख कित्ता शेयरका लागि गत शुक्रबारदेखि आवेदन खुल्ला गरिसकेको छ । थप सात लाख तीस हजार कित्ता शेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि चाडैं खुल्ला गर्ने कम्पनीले जनाएको छ ।

ऊर्जा डेभलपर्सको नेपालमा नवीकरणीय उर्जा विकास गर्ने उद्देश्यको पहिलो सफलताको रुपमा माईबेनी आयोजनाले लक्षित समयभन्दा अगावै विद्युत उत्पादन आरम्भ गरेको प्रबन्ध निर्देशक भानु पोखरेलले बताए ।

ऊर्जा डेभलपर्सकै अर्को सम्बद्ध कम्पनीमार्फत इलाम जिल्लामै निर्माण भइरहेको ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । यो आयोजनाले अगामी महिनाबाट व्यपारिक उत्पादन लक्ष्य रहेको जानकारी पोखरेलले दिए । ‘प्राप्त उपलब्धिहरुका कारण विभिन्न चरणमा रहेका ऊर्जा डेभलपर्स अन्तर्गतका अन्य आयोजनाहरुसमेत समयमै सम्पन्न गर्न थप हौसला थपिएको छ,’ पोखरेलले भने ।


Author

थप समाचार
x