प्रमुख समाचार

संसद् बैठक

महन्‍थ ठाकुर नेतृत्वको लोसपा प्रतिपक्षको कुर्सीमा बस्‍ने

इकागज |
भदौ २३, २०७८ बुधबार ७:५० बजे

फाइल तस्‍बिर

काठमाडौं - स‌घीय संसदका दुबै सदनको अधिवेशन आज अपराह्नबाट सुरु हुँदैछ । दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । यसपटक सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो। 

सचिवालयका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ । संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए । 


‘एकीकृत समाजवादीले सत्तापक्षमा र लोसपाले प्रतिपक्षको कुर्सीमा बस्ने भनेर माग सचिवालयमा जानकारी गराउनु भएको थियो,’ प्रवक्ता पाण्डेले भने, ‘सोही बमोजिम एकीकृत समाजवादीलाई सत्तापक्ष र लोसपालाई प्रतिपक्षको स्थानमा कुर्सी व्यवस्थापन गरिदिएका छौं ।’ लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो ।

लोसपा सांसद अनिल यादवले आफूहरू सरकारमा सामेल नभएकोले प्रतिपक्षमा बस्‍दा फरक नपर्ने बताए । सरकारलाई विश्‍वासको मत दिएको भए पनि सामेल नहुन्जेल प्रतिपक्षमा बसेका विगतमा नजिर पनि उनले स्मरण गरे । 'अहिलेसम्म हामी प्रतिपक्षमा बसिरहेका थियौँ । आज बस्दा फरक नपर्ला । हामीले सरकारलाई विश्वासको दिएका हौं । मत मात्रै दिएको आधारमा विपक्षीमा बस्न मिल्छ । हामी सरकारमा सामेल भएका छैनौं । यस्ता नजिर विगतमा पनि छन् । पछि के गर्ने भन्ने निर्णय होला ।'


Author

थप समाचार
x