प्रमुख समाचार

एमसीसी सम्झौता स्वीकार्य छैन : नेकपा

इकागज |
भदौ २६, २०७८ शनिबार १५:३४ बजे

फाइल तस्बिर

काठमाडौँ - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष बताए ।

प्रवक्ता विश्वकर्माले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए । उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए ।


सबै नेपाली नागरिकहरू यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरूले यसलाई पास गर्नुपर्ने भनिरहेको बताए । प्रवक्ता विश्वकर्माले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताए । 

उनले भने , ‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ, एमसीसीको मुद्दा मुखरित भएर, आजको तीन/चार वर्षअगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो, त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो, अर्थमन्त्रीमा हालका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो, नेपाली जनताले अहिलेसम्म त्यसको बिरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ, यदि पास भएमा हाम्रो नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन ।’

सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै उनले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताए । उनले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताए । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने बताए । 


Author

थप समाचार
x