प्रमुख समाचार

सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

इकागज |
भदौ २६, २०७८ शनिबार १९:३८ बजे

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको ओरोप लगाएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा एमाले नेताहरूले सभामुख र अर्थमन्त्रीको भूमिकाप्रति टिप्पणी गरेको बताए ।  

सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेर नयाँ बजेट ल्याएको भन्दै एमाले नेताले बैठकमा उनीहरूको टिकाटिप्पणी भएकोसमेत उनले जानकारी दिए  । केपी ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा समेटिएका सडक पूर्वाधार निर्माणलगायत विकास निर्माण आयोजना कार्यक्रम अहिलेको सरकारले कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको निष्कर्ष छ । 


एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेकाले सदनमा आफूहरूले विरोध गरेको बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याइँ भएको एमालेको ठहर छ ।

‘प्रतिपक्षी दलसँग छलफल र सरसल्लाह नगरी छापामार शैलीमा बजेट ल्याइएको छ,’ भट्टराईले भने, ‘प्रतिपक्षी दलविरुद्ध सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको हाम्रो पार्टीको निष्कर्ष छ ।’


Author

थप समाचार
x