प्रमुख समाचार

किसानको भुक्तानी नदिने उद्योगको चिनी सरकारले बेच्दिने

इकागज |
मंसिर २८, २०७७ आइतबार १६:४८ बजे

काठमाडौं : किसानको उखुबापतको भुक्तानी नगर्ने चिनी उद्योगको चिनी सरकारले बेच्दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यस्ता उद्योगको चिनी बिक्री गर्दिने भएको हो । गत वर्ष अन्‍नपूर्ण चिनी मिलले आफ्नो उत्पादनको चिनी नबिकेसम्म उखु किसानलाई भुक्तानी नदिने बताएको थियो । झन्डै ५० करोड रुपैयाँ बराबरको चिनी स्टक रहेको भन्दै भुक्तानी गर्न नसक्ने बताएको थियो ।
 
चिनी खरिदकर्ताले उद्योगीमार्फत सोझै खरिद नगरि जिल्ला प्रशासन कार्यालय, सर्लाहीमार्फत खरिदका लागि पत्राचार गरेका छन् । मंसिर २३ मा विराटनगरको एसियन बिस्किट्स एन्ड कन्फेक्सनरीले  उद्योग मन्त्रालयमार्फत अन्‍नपूर्णको ७० लाख रुपैयाँको चिनी खरिद गरेको थियो । बाँकी चिनी आवश्यक नभएको भन्दै पत्राचार गरेको थियो । पछि उसले कविता गल्लार भण्डारलाई थप चिनी आवश्यक परेकाले इच्छा जाहेर गरेको बताएको थियो । सोही अनुसार चिनी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले मन्त्रालयलाई पत्राचार गरेको थियो । 

मन्त्रालयले थप चिनी उपलब्ध गराउनका लागि अन्‍नपूर्ण चिनी मिललाई पत्राचार गर्ने भएको छ । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले थप चिनी खरिदका लागि प्रक्रिया अघि बढेको बताइन् । उनले भनिन्, 'चिनी उद्योगले चिनी बिक्री गरेर उखु किसानलाई भुक्तानी नगरेको गुनासो आएपछि मन्त्रालयले पहल बढाएको हो ।'


यसरी बिक्री भएर आएको रकमबाट किसानलाई आवश्यक भुक्तानीको व्यवस्था जिल्ला प्रशासन कार्यालयबाट व्यवस्था हुने उनले बताइन् । सरकारसँग गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएको बताउँदै उखु कृषकहरूले आइतवारदेखि संघीय राजधानीमा फेरि आन्दोलन सुरू गरेका छन् । एक वर्ष अगाडि जाडोयाममा काठमाडौं आन्दोलन गरेपछि सरकारले सम्झौता गरेका थियो ।

वर्षौँदेखि चिनी उद्योगले नदिएको रकम भुक्तानी हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। त्यसबाहेक उखु खेतीसँग जोडिएका अन्य मागहरू पनि छन् । उखु कृषकको आन्दोलनमा नेपाल उखु उत्पादक महासङ्घजस्ता सङ्घ-संस्थाले सहभागिता नरहेको बताएका छन्।

आन्दोलनको चेतावनी दिने कृषकहरूका अनुसार गत वर्ष स्वत:स्फूर्त रूपमा आन्दोलनमा आएका कृषकहरू नै सहभागी हुनेछन् । नेपालमा वर्षौँदेखि उखु कृषकहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोलन गरिरहेका छन् ।

वर्षैपिच्छे हरेक सरकारले उखु किसानका माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने पनि गरेका छन् । तर त्यसरी तयार भएका प्रतिवेदन मन्त्रालयकै दराजमा थन्किने गरेको छ । उखु कृषकको समस्या जस्ताको तस्तै छ । 

कसको कति भुक्तानी बाँकी छ 
अहिले मुलत: चार उद्योगले उखु किसानको भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । बाँकी उद्योगहरुको पनि केही रकम बाँकी भएपनि किसानको खाता नपाएको भन्दै भुक्तानी हुन नसकेको उनीहरुको भनाइ छ । चार मध्ये सबैभन्दा धेरै श्रीराम मिलको बक्यौता छ । जो करिब ३ महिनाअघि बन्द भएको थियो । 

अन्‍नपूर्ण सुगर मिलको २६ करोड रुपैयाँ बक्यौता छ । लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ बक्यौता रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

समर्थन मूल्यमा असहमती
गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्‍विन्टल उखुको ५४४ रुपैयाँ ३३ पैसा मूल्य तोकेको थियो । गत वर्ष यो मूल्य प्रतिक्‍विन्टल ५३४ रुपैयाँ ५६ पैसा रहेको थियो। सरकारले तोकेको नयाँ समर्थन मूल्यमा पनि कृषकहरूले आपत्ति जनाएका छन्।

उखु कृषकका माग सम्बोधन गर्दै दीर्घकालीन समाधानका लागि उनीहरूलाई सस्तो ब्याजदरमा ऋण दिनुपर्ने, उद्योगीले उखु किनेसँगै भुक्तानी हुने व्यवस्था मिलाउनु पर्ने, बिमा र अनुदान सुविधा हुनुपर्ने लगायतका सुझाव कृषक र विज्ञहरूको रहेको छ।


 


Author

थप समाचार
x