प्रमुख समाचार

प्रदेश १ : समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई

बाबुराम भण्डारी |
भदौ २८, २०७८ सोमबार १३:७ बजे

विराटनगर- प्रदेश १ मा नेकपा एमाले छाडेका १० जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी) दलको सांसदका रुपमा मान्यता पाएका छन् । नेकपा (एकीकृत समाजवादी) ले दलको मान्यता पाएसँगै प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ ।

निर्वाचन आयोगले एमाले त्यागेका पाँच प्रत्यक्ष निर्वाचित र पाँच समानुपातिक गरी १० जना सांसदलाई नेकपा (एस) को सांसदका रुपमा भदौ २५ गतेको निर्णय बमोजिम मान्यता दिएको हो । आयोगले प्रदेश १ को संसद सचिवालयलाई पठाएको पत्र अनुसार १० जना सांसदहरूको हकमा मात्र ‘दल त्याग गरेको नमानिने’ व्यहोरा उल्लेख गरी उनीहरूको नामावली पठाएको छ । 


राजनीतिक दल सम्बन्धी ऐन २०७३ (दोस्रो संसोधन अध्यादेश २०७८) को दफा ३३ उपदफा २क तथा नियमावली २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ क बमोजिम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेको १० सांसदलाई नयाँ दलको सांसदका रुपमा मान्यता दिएको आयोगको पत्रमा उल्लेख छ । 

नेकपा एमालेको तर्फबाट निर्वाचित भएका प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, राजन राई, खिनु लङ्वा लिम्बु, गणेशकुमार काम्बाङ, उपेन्द्रप्रसाद घिमिरे, पदमकुमारी गुरुङ, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा र कृष्णकुमारी राईले माधवकुमार नेपाल नेतृत्वमा विभाजित भएर बनेको  नेकपा (एकीकृत समाजवादी) दल रोजेका थिए । उनीहरूले प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगरमा जेठ १६ गते उपस्थित भएर सनाखत गरेका थिए ।

राजेन्द्र राई बने दलको नेता
यता नेकपा (एस) ले प्रदेश १ को प्रदेशसभामा दलको मान्यता पाएलगत्तै उक्त दलको नेतामा भोजपुरको निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित राजेन्द्र कुमार राई नेता चयन भएका छन् । उनलाई नेता चयन गर्ने निर्णय गरिएको माइन्यूट यसअघि नै भइसकेको स्रोतले जनाएको छ । निर्वाचन आयोगले जेठ २५ गते शुक्रबार दलको मान्यता दिएको निर्णय गरे लगत्तै पहिल्यै तयार गरिएको बैठकको माइन्यूटमा जेठ २६ गते शनिबारको मिति हालेर नेता राईलाई दलको नेता चयन गरिएको हो । 

नेकपा (एस) का सांसद उपेन्द्र प्रसाद घिमिरेले शनिबारकै मितिमा राईलाई दलको नेता चयन गरिएको बताए । बैठकले दलको नेता बाहेक संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका अन्य पदाधिकारीहरू भने चयन गर्न बाँकी रहेको उनले जानकारी दिए ।

सोमबार प्रदेशसभा सचिवालयमा संसदीय दलको नेताको हैसियतले राईले पत्राचार गरी दलको नेता चयन भएको जानकारी गराउने जनाइएको छ । त्यसैगरी १० सांसदहरू एमालेमै रहेको बेलामा एकल बहुमत देखाएर बनेको भीम आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको समेत जानकारी गराउने तयारी भइरहेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x