प्रमुख समाचार

पुस २ देखि काठमाडौं-दिल्ली उडान सुरु, बुकिङ खुल्यो

इकागज |
मंसिर २८, २०७७ आइतबार १७:४० बजे

काठमाडौं : कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनःसञ्‍चालन हुने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्‍चालन सुरू हुने भएको हो ।
 
काठमाडौं-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्ने छन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःसुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० गतेदेखि काठमाडौं-दिल्ली उडान स्थगित भएको थियो । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । 


कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो । 

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौं उडानका लागि बुकिङ सुरु गरेको जनाएको छ ।

भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् । 


Author

थप समाचार
x