प्रमुख समाचार

प्रदेश-१

मुख्यमन्त्री आचार्यको सरकारलाई समर्थन नभएको नेकपा (एकीकृत समाजवादी)को घोषणा

इकागज |
भदौ २८, २०७८ सोमबार १८:४१ बजे

विराटनगर - शुक्रबारदेखि प्रदेश १ को प्रदेशसभामा अलग दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) ले प्रदेश १ वर्तमान मुख्यमन्त्री भीम आचार्यमाथिको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । समर्थन फिर्ता लिएको जानकारी नेकपा (एस) की सांसद सावित्रा कुमारी रेग्मीले सोमबार प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीलाई लिखित रुपमा गराएकी छन् ।

आचार्य मुख्यमन्त्री चयन भएपछि पनि एमाले संसदीय दलकै सदस्य रहेका १० सांसदले  नेकपा (एस) दलको सदस्यका रुपमा मान्यता पाएपछि आचार्य माथिको समर्थन नभएको पत्र सचिवालयमा बुझाइएको हो ।गत शनिबार नै दलको नेता चुनिएका राजेन्द्र कुमार राईले हस्ताक्षर गरेको उक्त पत्रमा ‘मुख्यमन्त्री माननीय भीम प्रसाद आचार्यको नेतृत्वको सरकारलाई आजकै मितिदेखि यस दलको समर्थन नभएको जानकारी गराउँदछौं’ भनि उल्लेख छ । 


नेकपा (एस) संसदीय दल सदस्यका रुपमा मान्यता पाएका दलका नेता राजेन्द्र कुमार राईसहित राजन राई, खिनु लङ्वा लिम्बु, गणेश कुमार काम्बाङ, उपेन्द्र प्रसाद घिमिरे, पदमकुमारी गुरुङ, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा र कृष्णकुमारी राईको नाम उल्लेख गरेर सचिवालयमा जानकारी गराइएको छ ।

१० सांसदहरु एमालेमै रहेको बेलामा एकल बहुमत देखाएर भीम आचार्य नेतृत्वमा बनेको प्रदेश १ सरकार सोमबारदेखि औपचारिक रुपमै अल्पमतमा परेको छ । प्रदेश १ मा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक छ । एमालेका १० सांसदहरुले नेकपा (एस) का सांसदका रुपमा निर्वाचन आयोगबाट मान्यता पाएपछि प्रदेशसभामा एमालेको सिट संख्या ४१ मा सिमित भएको छ ।


Author

थप समाचार
x