प्रमुख समाचार

धनुषामा कोभिडविरुद्धको खोप बिक्री गर्ने मेडिकल सञ्चालक र स्वास्थ्यकर्मी पक्राउ

सुभाष कर्ण |
भदौ ३१, २०७८ बिहिवार १९:३१ बजे

जनकपुरधाम – कोभिड विरुद्धको खोप बेचेको आरोपमा धनुषा सहिदनगर नगरपालिका ६ यदुकोहामा स्वास्थ्यकर्मी र औषधी पसलेसहित दुई जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा यदुकोहाका श्रीराम मेडिकल हलका सञ्चालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्र यदुकोहाका स्वास्थ्यकर्मी देवशरण यादव रहेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई २ देखि ५ हजार रूपैयाँसम्म लिएर खोप लगाइरहेको गुनासो आएपछि नगरप्रमुख उदय बरबरिया यादवको नेतृत्वमा उनीहहरूलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।


नगरपालिकाले गरेको अनुगमनका क्रममा औषधि पसले मण्डललाई नियन्त्रणमा लिइएको र यादवको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कोभिड विरुद्धको खोप सशुल्क बिक्री भइरहेको गुनासो आउन थालेपछि नगरपालिकाको अनुगमन समितिले प्रहरीको सहयोगमा यदुकोहास्थित श्रीराम मेडिकल, मञ्जु मेडिलक हल र चौधरी मेडिकल हलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा श्रीराम मेडिकल हलबाट जोनसन एण्ड जोनसन एक भाइल, भेरोसिल ४ भाइल, एस्ट्रोजेनिका एक भाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

खोप बरामद भएलगतै सो मेडिकल हलमा सिलबन्दी गरी आरोपित औषधि पसल सञ्चालक मण्डललाई नियन्त्रणमा लिई इप्रका यदुकोहामा बुझाइएको छ । इप्रकामा अनुसन्धानका क्रममा सो खोप स्वास्थ्यकर्मी यादवबाट किनिएको थाहा भएपछि उनलाई स्वास्थ्य केन्द्रबाट पक्राउ गरिएको छ ।

नगर कार्यपालिकाले खोप बेच्ने आरोपमा पक्राउ परेका दुवै जना विरुद्ध आवश्यक छानबिन गरी कारबाही प्रक्रिया सुरु गरिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यो घटना बाहिरिएपछि सहिदनगर नगरपालिकाले अन्य मेडिकलमा पनि अनुगमन गर्ने जनाएको छ । ‘कोभिड संक्रमण विरुद्धको खोप बिक्री वितरण गरिरहेको आरोपमा मेडिकल सञ्चालक मण्डल र स्वास्थ्यकर्मी यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ,’ धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नाय उपरीक्षक (डीएसपी) जीतेन्द्र बस्नेतले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x