प्रमुख समाचार

शिक्षक सरुवा विवाद : शिक्षा एकाईका प्रमुखमाथि हातपात

सुभाष कर्ण |
असोज ६, २०७८ बुधबार ७:४७ बजे

जनकपुरधाम- सरुवा विवादले गर्दा एक शिक्षकका अभिभावकले शिक्षा विकास तथा समन्वय एकाई धनुषाका प्रमुखमाथि हातपात गरिएको छ ।

मंगलबार दिउँसो शहीद नगरपालिका-१ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका राहत कोटामा खटदै आएका शिक्षक माधव राय यादवका बुबा बेचन यादवले आफ्नो छोरा सहितका शिक्षकलाई कानून विपरित सरुवा गरिएको गुनासो लिएर गएको बेला प्रमुख ईश्वरी प्रसाद ज्ञवालीमाथि हातपात गरेका हुन् ।


प्रत्यक्षदर्शी कार्यालय कर्मचारी तथा शिक्षकहरूका अनुसार अवकाश प्राप्त शिक्षक समेत रहेका बेचन यादव आफ्ना छोराको सरुवा सम्बन्धी समस्या लिएर आएको बेला प्रमुख ज्ञवालीले उनको कुरा नसुनेर कार्यालयबाट निस्किन लाग्दा हो हल्लाको क्रममा हातपात गरेको थियो ।

तर प्रमुख ज्ञवालीले ती अवकाश प्राप्त शिक्षक आएको बेला आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा ढिलो भइरहेको कारण कार्यालयबाट निस्किन लाग्दा हो हल्ला मात्रै भएको हो हातपात नभएको दाबी गरेका छन् ।

माधवको बुवा बेचन यादवले कानून विपरित गरिएको सरुवा बदर र बक्यौता तलबको माग गर्न समन्वय एकाई समितिमा जाँदा जिसिअसँग विवादको क्रममा धक्काधुक्कीको क्रममा हातहालाहाल भएको बताए । आफ्नो गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्य एकाईमा कयौँ पटक निवेदन दर्ता गराएपनि हालसम्म पहल हुन नसक्दा मंगलबार पुनः जाँदा आफ्नो गुनासो सुन्‍न नमानेपछि विवाद भएको उनले बताए ।

शहीद नगरपालिका शिक्षा एकाई समितिले सो विद्यालयमा कार्यरत राहत शिक्षक माधव यादवलाई सोही वडाका कुम्भकर्णस्थित विद्यालयमा र भरतप्रसाद यादवलाई बेमरखीमा सरुवा र उनको ठाउँमा जिल्लान्तर सरुवा भइ आएका काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई राख्दा विवाद उत्पन्‍न भएको हो ।

शिक्षक माधवले राहत शिक्षकलाई स्थानीय तहलाई सरुवा गर्ने अधिकार नरहेपनि पालिका शिक्षा एकाई समितिमा कार्यरत श्रोत व्यक्ति धनेश्वर यादवले पैसाको चलखेलमा आफूहरूलाई कानून विपरित सरुवा गरी सो ठाउँमा बाहिरबाट रन्धीर यादव र वकिल राय यादवलाई राखिएको आरोप लगाए ।

स्थानीय तहले सरुवा गरेकै कारण गत पुस महिनादेखि नै तलब बाँकी रहेको उनले बताए । 'सरुवा गरिएको विद्यालयमा जाँदा रमाना लिएर आउनुस् भन्छन् तर पालिकाले आफूहरूलाई रवाना चिट्ठी समेत नदिएको पुसदेखि हालसम्म तलब बाँकी रहेको छ' उनले भने । कानून विपरित आफूहरूलाई सरुवा किन गरियो र बक्यौता तलब मिलाई दिन नगरपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय एकाई समिति लिखित निवेदन दिएपनि हालसम्म कुनै पहल हुन नसक्दा, पुनः सम्वन्वय एकाई समितिमा जाँदा आफ्नो कुरा सुन्‍न नमानेपछि विवाद भएको उनको दाबी छ ।

माधवले भने 'कुनैपनि शिक्षकको जिल्लान्तर सरुवा विद्यालयका प्रधानाध्यापक, वडा र विद्यालय व्यवस्थापन समितिको सहमति भएपछि मात्रै गर्न सकिने कानूनी व्यवस्था छ तर श्रोत व्यक्ति भनिएका धनेश्वर, समन्वय एकाई समितिका प्रमुख ज्ञवाली र शाखा अधिकृत राजदेव यादवले सहितका कर्मचारीले पैसाको चलखेलमा कानून प्रक्रिया मिचेर आफूहरूलाई सरुवा गरी सो ठाउँमा बाहिरबाट ल्याएका शिक्षकलाई हाजिर गराएका छन् ।'

गत वर्ष पुस ६ गते रन्‍धीर यादव र माघ १० गते वकिल रायलाई विद्यालयमा हाजिर गराएका छन् भने विद्यालयमा कार्यरत राहत शिक्षकलाई चैत १३ गते पालिकाले सरुवा गरेका छन् । सरुवा भएर आएका शिक्षक रन्धीर र वकिललाई अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले माघ २३ गते हाजिर हुन दिएका छैनन् ।

माधवले भने 'आफूहरूको तलब पुस महिनादेखि नै बाँकी छ तर सरुवा भएर आएका शिक्षक रन्धीर र वकिल विद्यालयमा हाजिर नै नभएपनि तलब पाइरहेका छन् । कोरोना महामारीले विद्यालय बन्द रहेकै अवस्थामा उनीहरूको खाता कसरी खुल्यो ?'

वैशाख १३ गतेदेखि कोरोना महामारीका कारण पालिकाभित्रका बन्द भएको विद्यालय भदौ ७ गतेदेखि खुले पनि मतौनाको सो विद्यालय शिक्षक विवादका कारण बन्द नै रहेको छ । विवाद समाधान गरी विद्यालय खोलाउन माग गर्दै गत चैत ३० गतेका दिन अभिभावकहरू र चैत २९ गते विद्यालय व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । सो समस्या कुनै पनि निकायले पहल नगरेको अब न्यायका लागि अदालत जाने चेतावनीसमेत शिक्षक माधव दिएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x