प्रमुख समाचार

प्रदेश २ संसद् सचिवालयद्वारा फिनेल र हार्पिकका नाममा साढे ६७ लाख झ्वाम

सुभाष कर्ण |
असोज ६, २०७८ बुधवार १९:४० बजे

जनकपुरधाम – प्रदेश २ प्रदेश सभा सचिवालयले करोडौं रूपैयाँ अनियमित तरिकाले खर्च गरेको पाइएको छ । प्रदेश सभा सचिवालयले आर्थिक वर्ष ०७६÷७७ मा प्रदेश सभा सदस्यहरूको व्यक्तिगत प्रयोजनका सामग्रीमा १६ लाख रूपैयाँभन्दा बढी र कार्यालयका लागि फिनेल, हार्पिक खरिद शीर्षकमा साढे ६७ लाख रूपैयाँ खर्चेको छ ।

महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक गरिएको ५८ औं प्रतिवेदनअनुसार प्रदेशसभा सदस्यहरूको व्यक्तिगत प्रयोजनका तौलिया, गम्छा, जुत्ता, ट्रयाकसुटलगायत खेलकुद सामग्री खरिद गर्दा १६ लाख ७१ हजार रुपैयाँ भुक्तानी प्रदेशसभाबाट गरेका छन् ।


व्यक्तिगत प्रयोगका सामान सभाको स्वीकृतिबिनै खरिद गरी भुक्तानी गर्न नपाउने कानुनी व्यवस्था रहे पनि त्यसलाई बेवास्ता गर्दै प्रदेशसभा सदस्यहरूको व्यक्तिगत प्रयोजनको सामग्री खरिदका लागि प्रदेश सचिवालयले सो रकम खर्चेको हो ।

व्यक्तिगत प्रयोजनको सामग्रीबाहेक प्रदेशसभा सदस्यहरूले प्रदेशसभा सचिवालयबाट पारिश्रमिकवापत मासिक ५२ हजार ६ सय, आवास सुविधावापत मासिक १५ हजार, बैठक भत्तावापत १ हजार, सञ्चार खर्चवापत ३ हजार, निजी सचिवालय बन्दोबस्तका लागि मासिक २ हजार, बिजुलीका लागि २ हजार, दैनिक भ्रमण भत्ता २ हजार ५ सय र यातायात खर्च ५ सय रूपैयाँ बुझेका छन् । प्रदेशसभा सचिवालयले कार्यालय प्रयोजनका लागि फिनेल, हार्पिकलगायतका विभिन्न सामग्री खरिदमा ६७ लाख ४९ हजार रूपैयाँ अनियमित खर्च गरेको छ ।

‘प्रदेश २ को प्रदेशसभा सचिवालयले मसलन्द तथा कार्यालय सञ्चालनसम्बन्धी फिनेल, हार्पिकलगायतका विभिन्न सामग्री टुक्रा–टुक्रा गरी विभिन्न ३५ आपुर्तिकर्ताबाट सिधै खरिद गरी ६७ लाख ४९ हजार रूपैयाँ अनियमित तरिकाले भुक्तानी गर्नु उचित नरहेको,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रदेशसभा सचिवालयले विविध खर्चअन्तर्गत १ करोड ३१ लाख ३६ हजार रूपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा भनिएको छ । अतिरिक्त समयमा काम गरेको खाजा-खाना, होटल तथा पार्टी प्यालेसमा भएका सभा सम्मेलनको भुक्तानीबाहेक यो रकम खर्च गरिएको हो ।

विविध खर्च भनिए पनि कुन शीर्षकमा कति खर्च गरिएको र बिल भरपाइसमेत नभएपछि उक्त खर्चलाई महालेखाले अनियमित खर्च भन्दै यस्तो खर्च नियन्त्रण गर्न सचेत गराएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x