प्रमुख समाचार

कांग्रेसले हिमाली जिल्लामा दसैं अगावै जिल्ला अधिवेशन गर्ने

इकागज |
असोज ७, २०७८ बिहिवार २०:११ बजे

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा दसैं अगावै जिल्ला अधिवेशन सम्पन्‍न गर्ने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको  पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले त्यस्तो निर्णय गरेको हो  । 

हिमाली जिल्लामा अहिले सार्वजनिक भएको कार्यतालिकाअनुसार दशैँ अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा भने पालिका तहसम्म मात्रै गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।


अहिले वडा अधिवेशन सकिएका सबै जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुने उनले बताए । ‘हिमाली जिल्लामा दशैँ अगाडि जिल्ला तहसम्मकै अधिवेशन हुन्छ । त्यसबाहेकका जिल्लामा पनि ९ असोजमै पालिका तहको अधिवेशन हुन्छ,’ बैठकपछि संयोजक महादेवप्रसाद यादवले भने । 

९ असोजमा पालिका तह, १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ । अहिलेसम्म ६४ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । 

ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ,  दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी हिमाली जिल्ला हुन् । ती मध्य डोल्पा र रसुवामा क्रियाशील सदस्यता टुंगो लागेको छैन । 


Author

थप समाचार
x