प्रमुख समाचार

केपी ओलीलाई अब धुलो चटाइदिन्छौंः माधव नेपाल

इकागज |
असोज ९, २०७८ शनिबार १६:२६ बजे

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् । एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रूपमा उदाउँदै आएको भन्दै आगामी चुनावमा ओलीलाई धुलो चटाइदिने उनले बताए । 

देशमा ओलीले आफूलाई चुनौती दिने कोही पनि नभएको भन्ठाने पनि आफुहरूले ओलीलाई चुनौती दिएको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले सबै कार्यकर्ताले कार्ल माक्स, लेनिनवाद र कम्युनिष्टको इतिहास पढ्नुपर्ने भन्दै सबैले बुझ्‍न जरुरी रहेको बताए ।
 
शनिबार हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्ला कार्यसमितिको शपथ ग्रहण तथा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीलाई एमाले पार्टी भन्दा फरक पार्टीको रूपमा विस्तार गर्ने बताए । गफाडीको पार्टी, हुकुमे शैलीको पार्टी नबनाउने भन्दै सामुहिक रूपमा अघि बढ्ने बताए । 


उनले पार्टीलाई स्वाभीमानीको पार्टीको रूपमा अघि बढाउन चाहेको बताएका छन् । अध्यक्ष नेपालले दुई तिहाइको सरकार हुँदा ओलीले सबैलाई मिलाएर लगेको भए कति राम्रो हुने भन्दै, हुकुमेशैलीमा आफू बाहेक कोही नेतालाई नगनेर तानाशाही प्रवृती देखाएको बताए ।
 
अध्यक्ष नेपालले आफ्नो कार्यकर्ताले पसिना बगाएर काम गरेर आफ्नो जीवन निर्वाह गर्न आग्रह गरे । कृषि, उद्योग, सहकारी, व्यापार जुन चिजमा लागे पनि आफ्नो जीवन धान्‍ने काम गर्नुपर्ने उनको भनाइ छ । पार्टी स्कुल स्थापना गर्न लागिएको भन्दै नेपालले पार्टी विस्तार गर्दै जिल्ला, नगर, वडा हुँदै टोलटोलमा पार्टीको कार्यक्रम पुगिरहेको बताउँदै छिट्टै जनवर्गीय संगठनहरू गठन हुने बताए । 

नेकपा एकीकृत समाजवादी सुदुपश्चिम प्रदेशमा ठुलो पार्टीको रूपमा उदय भएको, प्रदेश-२ मा एमालेलाई २ नम्बरमा झार्दै १ नम्बरमा उक्लिएको, बागमतीमा छिट्टै आफ्नो सरकार निर्माण हुने नेपालले बताए । यसैगरी गण्डकी र लुम्बीनी प्रदेशमा पनि समाजवादीको बलियो उपस्थिति देखिएको उनले बताए । 

उनले पार्टीमा क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने भन्दै कुनै पनि कुरा असम्भव नभएको बताए । युवा पुस्ताहरूलाई जुझारु रूपले पार्टीमा लाग्‍न नेपालले निर्देशन दिए । आगामी चुनावमा केन्द्रबाटै गठबन्धनको चुनावी टिम बन्ने र त्यो प्रदेश हुँदै स्थानीय तहसम्म जाने बताए । अहिले त्यसको लागि केन्द्रमा गठबन्धनको छलफल चलिरहेको नेपालको भनाइ  छ ।

समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्रतिनिधि सभाका १४ सांसदलाई संसद्‍मा नारा लगाएर ओलीले निकाल्न नसक्ने दाबी गरे । संसद्‍बाट निकाले १ सय ६० सांसदहरूले ओलीलाई संसद्‍बाट निकाल्न नारा लगाउने चेतावनी दिए । ओलीले पार्टी भन्दा पनि व्यक्तिवादी चरित्र देखाएको भन्दै पार्टी जिन्दावाद नभनेर केपी जिन्दाबाद भन्न सिकाएको बताए । 

नेपालको राजश्वमा थुतुनो गाड्न बसेका मुसाहरू अहिले विरालो आएपछि भागभाग भएको पनि नेता खतिवाडाले बताए । सत्तालिप्त आफूहरू नभएको भन्दै बागमती प्रदेशमा दशै अघि नै पूर्व हुनको लागि केपीले मन्त्रिपरिषद् विस्तार गरेको, राजनैतिक नियुक्त गरेको उनले बताए ।

समाजवादी मकवापनुरको अध्यक्षमा श्रीधर पोखरेललगायत जिल्ला कार्यसमितिलाई केन्द्रीय अध्यक्ष नेपालले शपथ खुवाएका थिए । सामाजवादी पार्टी मकवापनुरको युवा संघ, अनेमसंघ, हेटौंडा नगर कमिटी शनिबार घोषणा भएको छ ।


Author

थप समाचार
x