प्रमुख समाचार

७६औँ राष्ट्रसंघीय महासभा

न्यूयोर्कमा व्यस्त परराष्ट्रमन्त्री : आइतबार भारतीय समकक्षी भेट्दै

इकागज |
असोज ९, २०७८ शनिवार १९:४९ बजे

काठमाडौँ - राष्ट्रसंघको ७६औँ महासभामा भाग लिनेक्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का दुईपक्षीय भेटघाटमा व्यस्त बनेका छन् । उनले त्यहाँ पुगेपछि अधिकतम साइडलाइन भेटवार्ता गरिरहेका छन् । डा‌. खड्काले शानिबार ७६ औँ महासभाका अध्यक्ष एवं माल्दिभ्सका पूर्वविदेशमन्त्री अब्दुल्ला साहिदसँग भेटवार्ता गरेका छन् ।

उनले कोभिड-१९ पछि विश्‍वमा राष्ट्रसंघको भूमिका, नेपाल र माल्दिभ्सको सम्बन्धका साथै दक्षिण एसियाको राजनीतिक अवस्थाबारे समेत छलफल गरेकाे जानकारी दिइएको छ । खड्का र अब्दुल्लाबीच यस क्षेत्रको शान्ति, जलवायु परिवर्तनको असर, कोभिडको प्रभाव, सार्कको भूमिका लगायतमा चासो र चिन्ता व्यक्त भएका थिए । 


कोभिड-१९ को सन्त्रास सामान्यीकरण हुँदै गएपछि राष्ट्रसंघ पनि केही हदसम्म खुला गर्दै महासभामा भौतिक उपस्थिति गराएको हो । ७५ औँ महासभा पूर्णत भर्चुअल भएको थियो । ७४ औँ महासभाको अन्त्य तिर कोभिड सन्त्रास सुरु भएको थियो । त्यसपछि विश्व नै फरक बनिसकेको छ । मानव जातीमा देखिएको सन्त्रास डरलाग्दो छ । 

यही विषयलाई यसपालीको महासभाले ध्यान दिएको देखिन्छ । सोही कारणले नेपालबाट सानै भए पनि टिम सहभागी भएको छ । परराष्ट्रमन्त्री नबनाएकाले भ्रमण अनिश्चित जस्तै भइरहँदा प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीमा डा. खड्कालाई नियुक्त गरी शपथ लगत्तै अमेरिका पठाएका हुन् । 

उनै डा. खड्काले महासभा अध्यक्ष मात्र होइन दुई पक्षीय भेटघाटमा तिव्रता दिएका छन् । उनले केही बेरमा बंगलादेशको परराष्ट्रमन्त्रीसँग भेट्ने छन् । शुक्रबार  कुवेतका विदेशमन्त्री अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । 

कुवेत नेपालीलाई रोजगार दिने मुलुक मात्र होइन नेपालको विकाशमा खाडी मुलुकबाट साहयोग प्रधान गर्ने पुरानो मुलुक हो । नेपाल-कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवर्द्धनलगायत साझा चासो र अन्य विषयमा विचार विमर्श भएको जानकारी परराष्ट्र प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 

त्यस लगत्तै उनले राष्ट्रसंघको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच राष्ट्रसंघीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसंघबीच विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको र नेपालको उपस्थितिको आधारमा उच्चपद आवश्यक रहेको भन्दै त्यसमा ध्यान दिन उनलाई आग्रह गरेका थिए । नेपाली सेना अझ थप मिसनमा जान सक्ने जानकारी दिँदै उच्च ओहोदामा पनि नेपालको उपस्थिति अधिक हुन पर्नेमा जोड दिएका थिए । 

परराष्ट्र मन्त्री डा.खड्काले आइतबार भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने भएका छन् । दुवै अधिक अध्ययन गरेका व्यक्तिबीच हुने वार्ताले केही निचोड निकाल्न सक्ने अधिकारीहरूले बताउँछन् । नेपाल र भारतबीचका अनेकन विषयमा खड्काले छलफल गर्नेछन् । भारतीय विदेश मन्त्री जयशंकरले बुझेको र राम्रोसँग कुरा गर्न मिल्ने नेपाली मन्त्रीसँग कुरा गर्न पाउने भएका हुन् । 

भरतीय विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘पक्का पनि यो भेटवार्तामा दुईपक्षीयसँगै विश्वको राजनीतिको बारेमा र अध्ययनहरूको बारेमा समेत विचार विमर्श हुनेछ । दुवै अधिक अध्ययन गरेका व्यक्तिहरू न्यूयोर्कमा भेट्दैछन् ।’ खड्का भारतको पुने, अमेरिका र क्यानडाको विश्वविद्यालयमा अध्ययन गरेका व्यक्ति हुन् । 

उनले सोमबार राष्ट्रसंघमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यससँगै उनले राष्ट्रसंघका महासचिव, अन्य अधिकारी, नेपाली समुदाय लगायतसँग पनि भेटवार्ता गरेर नेपाली समुदायको कार्यक्रममा भाग लिएर बुधबार विहान अमेरिकाबाट नेपाल हिड्ने र शुक्रबार काठमाडौँ आइपुग्‍ने कार्यक्रम छ । 
 


Author

थप समाचार
x