प्रमुख समाचार

ओटीटीमा पनि सेन्सरविना चलचित्र नचलाउन सरकारको निर्देशन

इकागज |
असोज २४, २०७८ आइतबार १५:२२ बजे

काठमाडौँ - अब ओटीटी प्लेटफर्ममा प्रसारण हुने चलचित्रले पनि जाँचपास (सेन्सर) गर्नुपर्ने भएको छ । सरकारले कुनै पनि चलचित्र तथा विज्ञापन चलचित्र जाँचपास समितिबाट जाँचपास (सेन्सर) गराएर मात्र प्रसारण गर्न निर्देशन दिएको हाे । शुक्रबार एक सूचना जारी गर्दै सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रालयले कुनै पनि चलचित्र तथा विज्ञापन जाँचपासविना प्रसारण नगर्न निर्देशन दिएको हो ।

सञ्‍चार तथा सूचना प्रविधी मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले हाल केहि ओटीटी प्लेटफर्मले विनासेन्सर फिल्म तथा विज्ञापन प्रसारण गर्दै आएकाले मन्त्रालयले पुन: सूचना निकालेको बताए । यसअघि ओटीटीमा फिल्म लगाउँदा सेन्सर गर्नुपर्ने अभ्यास थिएन ।


चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि चलचित्रको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।नियमावलीमा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नु पर्ने व्यवस्था छ । विज्ञापन तथा चलचित्र जाँच गराउनुपर्ने स्पष्ट कानूनी व्यवस्था भएकाले जाँचपासविना कुनै पनि चलचित्र तथा विज्ञापन प्रसारण नगर्न मन्त्रालयले सूचना जारी गरेको हो । 

'यस ऐनअन्तर्गतको नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने र निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरु समेत जफत गर्न सक्ने समेत व्यवस्था रहेको छ' सूचनामा भनिएको छ । विभिन्‍न प्रसारण संस्था वा विद्युतीय सञ्‍चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएकाे छ ।

यसअघि बलिउड फिल्म 'राधे' विनासेन्सर  रिलिज भएको समाचार इकागजमा छापिएपछि मन्त्रालयले २ दिनपछि सेन्सर गराएको थियाे । शुक्रबार मात्र मनाेज पन्डित  निर्देशित 'एक' पनि विनासेन्सर  रिलिज गरेको भन्दै सञ्चार मन्त्रालयले फिल्म रिलिज गर्ने ओटीटीलाई पत्र काटेको छ ।  चलचित्र  विकास बोर्डले सेन्सरका लागि बारम्बार ताकेता गर्दा पनि  निर्माण पक्ष सम्पर्कमा नआएपछि मन्त्रालयले फिल्म रिलिज गरेका ओटीटीलाई पत्र काटेको हो ।


Author

थप समाचार
x