प्रमुख समाचार

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने नपाउने छिनोफानो आइतबार

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार १६:५६ बजे

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत माग गरेका छन् । विश्वासको मत माग्दै उनले प्रदेश सभामा प्रस्ताव टेबुल गरेका छन् । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोही अनुसार मुख्यमन्त्री आचार्यले शुक्रबारको प्रदेश सभा बैठकमा संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् ।

कार्यव्यवस्था बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सहभागी भएका सांसदहरूले भने शुक्रबार नै छलफल गरी मत विभाजन गर्नुपर्ने माग गरेका थिए । तर बाढी पहिरोका कारण शुक्रबार केही सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमै रहेको र प्रदेश सभामा उपस्थित हुन नसकेका कारण विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आइतबारको बैठकमा गर्ने सहमति भएको जनाइएको छ । 


मुख्यमन्त्री भीम आचार्यले प्रस्ताव टेबुल गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले उक्त प्रस्तावमाथिको छलफल र मत विभाजनबाट प्रस्तावमाथि निर्णय गर्ने काम कात्तिक ७ गते आइतबार दिनको १२ः३० बजे बस्ने प्रदेश सभा बैठकमा हुने सदनलाई जानकारी गराएका छन् । प्रदेश सभामा प्रस्ताव टेबुल भएसँगै मुख्यमन्त्री आचार्यको कार्यकालको छिनोफानो आइतबार हुने निश्चित भएको छ । आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए ।

आइतबारको प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे मुख्यमन्त्री आचार्यले आगामी पुरा कार्यकाल प्रदेश १ को मुख्यमन्त्री चलाउने छन् । विश्वासको मत प्राप्त नगरे उनी प्रदेश १ को ६० दिने मुख्यमन्त्रीका रुपमा नाम लेखाउँदै विदा हुनेछन् ।


Author

थप समाचार
x