प्रमुख समाचार

प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय

इकागज |
कात्तिक ७, २०७८ आइतबार १७:५१ बजे

काठमाडौँ - कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि (८ कात्तिक)देखि इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले इजलास बहिष्कार गर्ने निर्णय गर्दै प्रधानन्यायाधीशले डाकेको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) पनि बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीशले नेपाल बार एसोसिएसनसँग हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा सहमति गरेलगत्तै बसेको न्यायाधीशहरूको बैठकले यस्तो निर्णय गरेको हो । 


सर्वोच्च अदालतमा उपलब्ध १४ मध्ये न्यायाधीश मनोजकुमार शर्माले मात्र बैठकमा फरक मत राखेका थिए । एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशको पक्षमा कुरा उठाए पनि अन्य १३ न्यायाधीश एक पक्षमा भए पनि शर्मासमेत यो निर्णयमा सहमत भएका हुन् ।

आजको बैठकमा पाँच जना न्यायाधीशहरू भने उपत्यकाबाहिर भएका कारण उपस्थित थिएनन् । न्यायाधीश ईश्वर खतिवडा, सपना मल्ला प्रधान, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र कुमार चुँडाल भने उपत्यकाबाहिर भएका कारण बैठकमा अनुपस्थित थिए । 

भोलिको फुलकोटमा न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा रहेको समितिले तयार गरेको रिपोर्ट कार्यान्वयन विषयमा छलफल गर्ने, केही अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने लगायतका एजेण्डा रहेको बताइएको छ ।   


Author

थप समाचार
x