प्रमुख समाचार

सुवास नेम्वाङको प्रश्न – प्रधानन्यायाधीशलाई मन्त्रीको मेडल दिनेले सजाय नपाउने ?

'अदालतको पछिल्लो गतिविधिले संसद् विघठन ठिक थियो भन्ने प्रमाणित गरेको छ'

इकागज |
कात्तिक ८, २०७८ सोमबार २१:१८ बजे

विराटनगर - नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले मन्त्रीमण्डलमा भागबण्डा खोज्ने र भाग दिने दुवै पक्ष दोषी रहेको तर्क गरेका छन् । मन्त्रिपरिषद्मा भाग खोजेको आरोप लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र ‘मन्त्रीको मेडल’ दिने गठबन्धनका नेताले पनि उत्तिकै सजाय पाउनुपर्ने नेम्वाङले बताए ।  

नेकपा एमाले मोरङले विराटनगरमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले परामादेशबाट बनेको सरकारले नै मेडलस्वरूप मन्त्री पद भाग लगाएको आरोप लगाए । नेम्वाङले भाषणका क्रममा प्रधानन्यायाधीश जबराको नाम नलिई उनलाई  ‘परमादेश दिने व्यक्ति’को संज्ञा दिएका छन्  । 


‘परमादेश दिने व्यक्तिलाई प्रधानमन्त्रीले मेडल दिएकै हो, खै कसले हो कुन्नी बदलामा मन्त्री माग्नु भयो रे, मन्त्री पनि बनाउनु भयो रे’ नेम्वाङले प्रश्न गरे, ‘मन्त्री माग्ने प्रधानन्यायाधीशले पदमा मिल्दैन भने मन्त्री बनाउनेले चाहिँ सजाय पाउने कि नपाउने ?’

उनले वर्तमान सरकारलाई दुषित गठबन्धन भएको टिप्पणी गरे । सोही कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेलले अदालतको पछिल्लो गतिविधिले संसद् विघठन ठिक थियो भन्ने प्रमाणित गरेको उल्लेख गरे । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अवसरवादका कारण नेकपाको एकता जोगाउन नसकिएको जिकिर गरे । एक व्यक्ति एक पदको नारा लगाउने माधव नेपालले अहिले आफ्नै पार्टी दर्ता गरेर आफैं अध्यक्ष र आफैं दलको नेता बनेको र आफ्नो व्यवहार प्रष्ट देखाएको भन्दै पोखरेलले व्यंग गरे ।


Author

थप समाचार
x