प्रमुख समाचार

महाअभियोग र अविश्‍वास प्रस्तावबाट आत्‍तिएका ओलीको काठमाडौंमा एक फन्को

जीवन कुँवर |
पुस ५, २०७७ आइतबार १३:२६ बजे

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली शनिबार पहिलो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगे । खुमलटार जान ओलीको रहर थिएन बाध्यता थियो । किनभने दाहाल-माधवकुमार नेपाल समूहले राष्ट्रपतिविरुध्द महाभियोग र प्रधानमन्त्रीविरुध्द अविश्वास प्रस्ताव राख्‍ने योजनाअनुरुप हस्ताक्षर संकलन गरेपछि परिस्थिति बद्लिएको हो । जब दाहाल-नेपाल समूहले संसद अधिवेशन आह्वान निम्ति भन्दै पुस १ मा राष्ट्रपति कार्यालयमा ८३ जनाको सूची बुझाए । तब राष्ट्रपति-प्रधानमन्त्री आत्तिए । त्यो सूचीमा बहालवाला मन्त्री र प्रमुख सचेतक हस्ताक्षर थिएन । त्यो सूचीसँगै संसदीय दलमा ओलीले विश्वास गुमाएको देखाइसकेको थियो । त्यो परिस्थिति बुझ्‍दै ओलीले संसद विघटनको अवैधानिक बाटो रोजेका हुन् ।

नेपालीमा एउटा उखान छ ‘नाङ्लो ठट्याएर हात्ती तर्साउने’ । ओलीको राजनीतिले त्यही प्रवृत्ति प्रदर्शन हुँदै आएको थियो । कहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर तर्साउछन् त कहिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर तर्साए । यति मात्रै होइन ओलीमाथि ‘नेकपा एमाले’ दर्ता गर्न लगाएको आरोप त छँदैछ ।


संसद विघटन त्यसैका खातिर हो कि भन्‍ने आशंका सत्तारुढ दलभित्र छ । तर, यो प्रतिनिधिसभा रहिरहँदा पनि कुनै बेला महाभियोग आउन सक्ने भयमा राष्ट्रपति पुगिन् । किनभने प्रधानमन्त्री ओलीको शनिबार दिनभरको प्रयत्‍न असफल भएपछि महाभियोग-अविश्वास प्रस्ताव नजिकिँदै थियो ।

त्यसो त ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हतारहतारमा जारी गरेकी दलसम्बन्धी अध्यादेश उनी आफैलाई गलपासो बन्यो । उक्त अध्यादेश फिर्ता गराउन प्रतिपक्ष दल सामाजिक सञ्जालमा रोइलो गर्नुबाहेक अन्य केही भूमिका खेल्नु परेन । त्यो फिर्ता गराउन नेकपाकै दाहाल र माधवकुमार नेपालहरु डटेरै लागे । त्यतिबेला पनि नेकपाभित्र चरम विवाद नै थियो र सबैको चासो थियो- ओलीले नै नेकपा फुटाउने नै भए । तर ओलीको जवाफ थियो, ’यो अध्यादेश नेकपाका लागि ल्याएकै होइन ।’ अध्यादेश जारी भएसँगै मधेश केन्द्रित दलहरुले रातारात एकता गरे । त्यसैको हुलमा मिसिए डा. बाबुराम भट्टराई पनि । अन्तत दल फुटाउने सम्बन्धी अध्यादेश फिर्ता भयो ।

संवैधानिक परिषद्‍मा सिफारिस गर्नुपर्ने उम्‍मेद्‍वारमा ओलीले एकलौटी गरेपछि सभामुख अग्‍निप्रसाद सापकोटाले बैठकमा उपस्थित हुन चाहेनन् । सभामुख उपस्थिति नभएपछि ओलीको सनकमा बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सिफारिस गरे, र अध्यादेश पनि जारी भयो । तै पनि सभामुख गलेनन् । र, अन्तत सभामुख सापकोटाको जनयुध्दकालीन मुध्दा ब्यूँतियो । २०६२ वैशाख १६ गते काभ्रेको श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला भएको स्थानबाट अपहरणमा परेका अर्जुन लामाको हत्यामा संलग्‍न भएको सापकोटालाई आरोप थियो ।  ‘स्याल पनि करायो, बाख्रा पनि हरायो’ भने जस्तै प्रधानमन्त्री र सभामुखको युद्ध चलिरहेको बेला सर्वोच्च अदालतले सभामुख सापकोटाको मुद्दा पेसीमा चढायो । वैशाखमै तोकिनुपर्ने पेसी कोभिड-१९ का कारण अहिले तोकिएको भनिए पनि प्रधानमन्त्री र सभामुख वार चलिरहेको बेलामा यो मुध्दा ब्यूँतिनु संयोग होइन सुनियोजित रुपमा आएको दाहाल समूहको बुझाइ छ ।

त्यसो त, शुक्रबार दिउँसो जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफु निकट केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र सचिवलाई दाहाल-नेपाल समूहले बोलाएर पार्टीको विवादबारे छलफल गरे । छलफल सकिएलगत्तै शुक्रबार साँझ ओलीलाई भेट्न बालुवाटार पुगे । ओलीसँगको छलफलमा विवाद समाधान नहुने देखेपछि दाहालले भनेका थिए, ‘तपाईंको मात्रै कुरा सुन्‍ने र विवाद समाधानतिर ध्यान नदिने हो पनि बालुवाटार धाइरहनुको के अर्थ ? अब बालुवाटारमा आएर समस्या समाधान नहुने भयो । छलफल गर्ने भए मेरैतिर आउनुस् ।’ दाहालले यसो भनेपछि ओलीले भने, ‘त्यसो भए शनिबार तपाईंकोमा आउँछु म ।’

शनिबार दाहाललाई भेट्न खुमलटार पुगेका ओलीले उही परानै कुरा दोहोर्‍याए, ’ममाथि तपाईंहरुले लगाए आरोपपत्र फिर्ता लिनुस् ।’ तर दाहालले पनि पूरानै कुरामा अडान राखे र फिर्ता नहुने जानकारी गराए । ओली(दाहालको भेटमा नेकपा उपाध्याक्ष वामदेव गौतम पनि मिसिएका थिए । गौतमलाई फेरि ओली निकट नेताहरुले अध्यक्षको तुरुप फालेपछि उनी दाहाल समूहतिर पनि ढल्के जस्तो गर्ने र ओली समूहतिर पनि जस्तो गर्ने रणनीतिमा छन् । शनिबार खुमलटारमा दृश्यमा पनि यही देखिन्छ । पछिल्लो पटकको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई अबको प्रधानमन्त्रीको रुपमा संकेत गर्नु र ओली निकटकाहरुले अध्यक्षको कार्ड फालेपछि आफु निकट नेताहरुसँग छलफलमा जुटेका थिए । शुक्रबार आफ्ना १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित निवासमा गरेको छलफलमा अधिकांशले ओलीले पटकपटक धोका दिएकाले सचेत हुनुपर्ने धारणा राखेका थिए ।

खुमलटारमा दाहालसँग सहमति नजुटेपछि ओली पुल्चोकस्थित गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाो निवासमा पुगे । निवासमा पुगेको केही समय ओली निकटका भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि पुगे । ओलीले दाहालसँग भएका सबै कुरा एकाएक सुनाए र थापालाई सहजिकरणको भूमिका खेलिदिन आग्रह गरेका थिए । पूर्वमाओवादी समूहका भए पनि यसअघि ओलीलाई साथ दिँदै आएका थापासँग छलफल गरेर ओलीले पूर्वमाओवादीभित्र खेलेर बहुमत र अल्पमतबारे खेल्न खोजेको पनि दाहाल-समूहको बुझाइ छ ।

र, यो पनि

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस

 


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x