प्रमुख समाचार

बाह्रबिसे सवस्टेशनको ठेकेदारलाई कुलमानको चुनौती

इकागज |
कात्तिक १५, २०७८ सोमबार १५:१७ बजे

सवस्टेशन निर्माणस्थल जहाँ कुनै चालचुल नै छैन । तस्वीर --नेपाल विद्युत प्राधिकरण

काठमाडौँ - विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेशन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ ।

‘करिब दुई वर्ष अघिभन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, ४ महिना हेर्छौं, त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई चुनौती दिंदै कार्यकारी निर्देशक घिसिङले भने ।


सबस्टेशन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेशन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको हो । खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेशन निर्माण सुरु गरिएको थियो ।

प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेशन पनि निर्माण गरिरहेको छ । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टशनको निर्माण भइरहेको हो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकोले चार महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको छ ।

कम्पनीले सबस्टेशनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेशनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेशन निर्माणपछि स्थानीय रूपमा बाह्रबिसे बजारबाट सबस्टेशनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीर्ण रहेकोले निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामग्री ढुवानीका लागि समस्या छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेशनमा जोडिने छ । यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसेहुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । 

यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेशनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।  त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी  केइसी इन्टरनेशनल छनोट भएको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ । 

भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।


Author

थप समाचार
x