प्रमुख समाचार

लिभरपुलका रक्षाकवच भान डाइक

इकागज |
पुस १०, २०७७ शुक्रबार ८:६ बजे

काठमाडौं : भर्जिल भान डाइक हाल चोटका कारण मैदान बाहिर छन् । दुई महिनाअघि घुँडाको चोट बोक्दै लिभरपुल टिमबाट बाहिरिएका भान डाइक जारी सिजनमा फेरी मैदानमा फर्किन्छन्, फर्किदैनन्, टुङ्गो छैन । खेलाडी लामो समय मैदान बाहिर रहँदा सर्मथकमाझ उसको चर्चा कम हुन थाल्छ । तर भान डाइक फरक छन् ।

गत सिजन लिभरपुललले लिग जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका भान डाइक सजिलै बिर्सिने नाम होईन । उनको योगदानमा लेखिएका गीत एनफिल्डमा सधैभरी गुन्जिनेछन् । लिभरपुलले ३० वर्षमा पहिलो पटक लिग जित्दा भान डाइक सर्वाधिक महत्वपूर्ण खेलाडी दरिएका थिए । भान डाइक लिभरपुलका लागि फगत रक्षक मात्र होईनन् । खासमा उनको वर्णनमा प्रयोग गर्न मिल्ने शब्द धेरै छन् । तर एउटै शब्दले मात्र उनी कस्तो खेलाडी हुन् भन्‍ने जनाउन सक्दैन । उनलाई लिभरपुलको नेतृत्वकर्ता देखि अलौकिक रक्षकसम्म भनेको सुन्‍निछ ।


त्यसो त लिभरपुलमा भान डाइकका सहकर्मी उनलाई ‘बिग म्यान’ भनेर बोलाउँछन् । भान डाइक आउनु अघि लिभरपुलको रक्षापंक्ति कमजोर थियो । उनी थपिएपछि योर्गेन क्लप नेतृत्वको क्लबविरुद्ध गोल गर्न नै मुश्किल हुन थाल्यो । पछिल्ला दुई सिजन लिभरपुल प्रिमियर लिगमा सबैभन्दा कम गोल खाने टिम बन्‍नु भान डाइकको आगमनकै देन हो । भान डाइक रक्षापंक्तिमा जब्बर देखिन्छन् । उनको उपस्थितीले लिभरपुलको रक्षापंक्तिमा सुधार त आएकै छ, टिमका अन्य रक्षक तथा गोलरक्षकको आत्मविश्वास पनि बढेको छ । एउटा प्रतिभाशाली खेलाडीले टिममा आफ्नो प्रदर्शनले फरक मात्र पार्दैन, उसले सहकर्मीलाई हौसला दिँदै टिमको लयलाई पनि मजबुत बनाउँछ ।

जसरी भान डाइकले लिभरपुलको रक्षापंक्तिलाई परिवर्तन गरेका छन्, त्यसरी नै अन्य रक्षकले अर्को क्लबको रक्षापंक्तिलाई सायदै परिवर्तन गरेका छन् । त्यसकारण पनि उनी सन् २०१९ को बालोन डोरको नजिक पुगेका हुन् । भान डाइकको प्रभाव मैदानमा त छँदैछ, उनी मैदान बाहिर पनि त्यत्तिकै प्रख्यात छन् । लिभरपुलको ‘ड्रेसिङ रुम’मा उनको उपस्थितीले उर्जा दिने बताइन्छ । उनी आफ्ना सहकर्मीबीच पनि मन पराइएका पात्र हुन् । सर्मथकले उनलाई कती मन पराउँछन् भनेर त भन्‍नै परेन ।

लिभरपुलले लिग उपाधि रक्षा गर्न सकेन भने ? त्यसो भए सायद मानिसहरुले भन्‍नेछन्, ‘भान डाइक बिना लिभरपुलले लिग जित्न सक्दैन,’लिभरपुलमा पछिल्ला वर्षमा भान डाइकले देखाएको खेल कौशलका आधारमा पनि मानिसहरुलाई त्यसो भन्‍न छुट छ ।

फुटबल दुनियाँमा मजाक गर्दै भन्‍ने गरिन्छ, ‘डिफेन्समा भान डाइकको पार्टनर भएर त जो पनि खेल्न सक्छ । भान डाइकसँग जुन सुकै स्तरको खेलाडीलाई खेलाए पनि लिभरपुलले गोल खाँदैन’ । यसले उनी कती भरपर्दा रक्षक हुन् भन्‍ने देखाउँछ । उनी यस पटक लामो समयका लागि मैदान बाहिर रहनेछन् । तर पछिल्ला दुई सिजन उनले चोटका कारण कुनै पनि लिग खेल गुमाउनु परेन । त्यति मात्र होइन, उनी सम्मिलत लिभरपुल रक्षापंक्तिले ७६ खेल मध्ये ३६ मा त गोलै खाएन ।

भान डाइकको उपस्थिती रक्षापंक्तिमा मात्र सिमित छैन । उनी अग्रपंक्तिमा पनि बलियो देखिन्छन् । विशेषगरी ‘सेट पिस’ मा । गएको सिजन मात्रै उनले प्रिमियर लिगमा पाँच हेडर गोल गरे । लिभरपुलले सिजनको उद्घाटन गर्दा डच रक्षकले नर्विचविरुद्ध गोल गरे भने अन्तिम खेलमा न्यूकासल युनाइटेडको पोस्टमा पनि गोल गर्न भ्याए । अझ म्यानचेस्टर युनाइटेडविरुद्ध जनवरीमा गरेको गोल त झन विशेष थियो । लिभरपुलले प्रतिद्वन्द्वी युनाइटेडलाई हराउँदा भान डाइकले गरेको दोस्रो गोल सर्मथकले सायदै बिर्सेलान् । भान डाइकको त्यो गोललाई बेलायती टेलिभिजन स्काई स्पोर्टसले प्रिमियर लिग विज्ञापनमा त्यत्तिकै देखाउने होइन ।

गत वर्ष बालोन डोरको दौडमा भान डाइक थोरै मतले मात्र पछि परे । लियोनल मेस्सी ६ सय ८६ मतका साथ बालोन डोरको विजेता हुँदा भान डाइकले विश्वभरका राष्ट्रिय टिम प्रशिक्षक, कप्तान र पत्रकारबाट ६ सय ७९ मत प्राप्त गरे । भान डाइक दोस्रो फाबियो कानाभारो बन्‍नलाई धेरै टाढा थिएनन् ।

मेस्सीसँग बालोन डोरमा हारे पनि भान डाइक च्याम्पियन्स लिगको सेमिफाइनलमा भने अर्जेन्टिनियनविरुद्ध खरो उत्रिएका थिए । लिभरपुललाई त्यस सिजन युरोपियन क्लब फुटबलको सर्वोच्च उपाधि जित्न मद्धत गरे पनि प्रिमियर लिगमा भने भान डाइक सफल हुन सकेनन् । तर क्लबमा उनको प्रभावको ग्राफ भने उकालो चढि नै रह्यो ।

विश्व फुटबललाई धेरै संख्यामा प्रतिभाशाली खेलाडी दिएको नेदरल्यान्ड्स २०१६ को युरोपियन च्याम्पियनसिप र २०१८ को विश्वकपमा छनौट हुन असफल रह्यो । तर त्यसपछिका वर्षमा डच टोलीले राम्रो खेल देखाइरहेको छ । जसमा भान डाइकको ठूलो योगदान छ ।

भान डाइक लिभरपुलका लागि मात्र प्रभावशाली छैनन् । उनको महत्व नेदरल्यान्ड्सको राष्ट्रिय टिममा पनि उक्तिकै छ । विश्व फुटबललाई धेरै संख्यामा प्रतिभाशाली खेलाडी दिएको नेदरल्यान्ड्स २०१६ को युरोपियन च्याम्पियनसिप र २०१८ को विश्वकपमा छनौट हुन असफल रह्यो । तर त्यसपछिका वर्षमा डच टोलीले राम्रो खेल देखाइरहेको छ । जसमा भान डाइकको ठूलो योगदान छ । कप्तान समेत रहेका भान डाइकले नेदरल्यान्ड्सलाई आउँदो युरोका लागि छनौट गराउन नेतृत्वदायी भूमिका खेले । 

यस सिजनमा पनि लिभरपुलको लक्ष्य भनेको प्रिमियर लिग उपाधि नै हो । र, हाल देखाइरहेको लयले पनि लिभरपुललाई उपाधि दाबेदार बनाउँछ । तर लिभरपुलले लिग उपाधि रक्षा गर्न सकेन भने ?त्यसो भए सायद मानिसहरुले भन्‍नेछन्, ‘भान डाइकबिना लिभरपुलले लिग जित्न सक्दैन,’लिभरपुलमा पछिल्ला वर्षमा भान डाइकले देखाएको खेल कौशलका आधारमा पनि मानिसहरुलाई त्यसो भन्‍न छुट छ ।

अन्त्यमा,
बालोन डोर पुरस्कार यसपटक कसैलाई दिइने छैन । कोभिड–१९ (कोरोना भाइरस) का कारण यसपटक विश्व फुटबलकै विख्यात पुरस्कार समारोह स्थगित गरियो । तर यदि बालोन डोर वितरण स्थगित हुँदैन थियो भने, त्यसका लागि कुन खेलाडी योग्य छन् भन्‍ने बहस हुन्थ्यो । अनि, विभिन्‍न खेलाडीको नाम उल्लेख गरिन्थ्यो । त्यसमा भान डाइकको नाम पनि पक्कै हुन्थ्यो । त्यसै पनि बालोन डोर विगतको प्रदर्शनका आधारमा दिने हो । भविष्यको अनुमान गरेर होइन । त्यसकारण, भान डाइक अक्टोबरको अन्तिम साता यता मैदान बाहिर रहे पनि त्यसभन्दा अगाडि उनको प्रदर्शन उच्चकोटीको थियो । 


Author

थप समाचार
x