प्रमुख समाचार

ब्रोकर कमिसन घटेसँगै सेयर कारोबार पनि घट्यो

स्थायित्वका लागि बैंकलाई ब्रोकर लाइसेन्स आवश्यक

पुष्पराज आचार्य  |
पुस १५, २०७७ बुधबार ९:५५ बजे

काठमाडौं : धितोपत्र दलाल (स्टक ब्रोकर)हरुको सेवाशुल्क अर्थात् कमिसन घटाएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबार रकम पनि घट्‍न थालेको छ । अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा धितोपत्र बोर्डले १० पुसमा कमिसन घटाएको हो ।

कारोबारको आकार अनुसार ५० हजारसम्मको सेयर कारोबारमा ०.४ प्रतिशत देखि एक करोड माथि ०.२७ प्रतिशत कमिसन लिन पाउने व्यवस्था पुँजी बजार नियामक निकाय धितोपत्र बोर्डले गरेको छ । कमिसन घटेयता बजारमा सेयर कारोबार रकम उल्लेख्य घटेको छ । सेयर बजारमा उछाल आउँदा मंसीरको मध्यतिर सेयर बजारमा दैनिक कारोबार रकम ९ अर्ब २२ करोड रुपैयाँसम्म पुगेको थियो । कमिसन घट्‍नु अघिसम्म पनि सेयर बजारमा दैनिक कारोबार ६–७ अर्ब भन्दा कम भएको थिएन । अहिले दैनिक कारोबार ३–४ अर्ब रुपैयाँमा सीमित भएको देखिन्छ ।


यसअघि सेयर बजारको अटोमेसन, अनलाइन ट्रेडिङले बजारमा लगानीकर्ताको प्रवेश र कारोबार संख्या बढेसँगै दैनिक कारोबार रकम बढेको थियो । ब्रोकर कमिसन घटेपछि लगानीकर्तालाई अझै धेरै किनबेच गर्न सहज भएर दैनिक कारोबार रकम बढ्नुपर्नेमा उल्टै त्यसको नकारात्मक प्रभाव देखिनु अस्वभाविक हो ।

ब्रोकर कमिसनसँगै बजार घट्‍न थालेपछि कतिपयले भने ब्रोकरहरूले नै कमिसनको लोभमा आपसमा कृत्रिम कारोबार गरी कारोबारको आकार बढाएको हुनसक्ने अनुमान गरिएको छ । सानो कारोबारमा ब्रोकरहरूले सवा दुई प्रतिशतसम्म कमिसन लिदैं आएका थिए । अर्थमन्त्रीले ब्रोकर कमिसन घटाउन लगाएपछि त्यसको सांकेतिक विरोध गरेको कतिपयले अर्थ लगाएका छन् ।

ब्रोकरहरूले आफ्ना आफन्त या नातागोताको नामबाट आपसमा कृत्रिम कारोबार गरेर बजार बढाएका थिए भन्ने ठोस आधार नभएपनि यसमा शंका गर्ने प्रशस्त ठाउँ भने छन् । बजार बढीरहेको मौकामा कारोबार बढाउन ब्रोकरहरूलाई सहज थियो । तर नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा केही कडाइ गरेपछि भने सेयर बजार करेक्सन हुँदै बढ्ने क्रम जारी छ । यद्यपि नेप्से परिसूचक मंसीर १७ को २,०७१.०२ बिन्दूको रेकर्डभन्दा तल रहेर नै बजार घट्‍ने, बढ्ने भैरहेको छ ।

धितोपत्र बोर्डका पूर्व अध्यक्ष रेवतबहादुर कार्की सेयर बजारमा ब्रोकर कम्पनीहरूको चलखेलका कारण बजारमा स्थायित्व आउन नसकेको बताउँछन् । ‘दैनिक झण्डै सवा नौ अर्ब सम्मको कारोबार पनि देखियो । हाम्रो सेयर बजारमा यो आफैंमा अस्वभाविक पनि हो,’ कार्कीले भने, ‘बजारलाई अस्वभाविक पम्प गर्ने काम भयो ।’ उनले यसले बजारमा यथार्थ दैनिक यथार्थ कारोबारको अनुमान नै गर्न पनि गाह्रो भएको बताए । सवा नौ अर्ब दैनिक कारोबार रहेको बजारमा अचानक आधा भन्दा घट्‍नु अस्वभाविक भएको बताए । बजारको स्थिरता र स्थायित्वका लागि यस्तो चलखेल न्यूनीकरण गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उनले बताए ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया धितोपत्र बोर्डले यसअघि नै अघि बढाइसकेको छ । लगानीकर्ताका लागि सहजता, कारोबारको समावेशीता र लगानीकर्ताको प्रवेश बढाउन पनि बैंकले ब्रोकरका रूपमा काम गर्दा सहज हुने उनको भनाइ छ । ‘ब्रोकर कमिसन घटाउनु सेयर बजार सुधारको एउटा महत्वपूर्ण पाटो हो, हरेक सुधारले सेयर बजारमा कारोबार घट्‍ने होइन बढ्छ,’ उनले भने । 

यसअघि सेयर बजार अवसाद (डिप्रेसन)मा गएपछि सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले दुई वर्ष अघि नै ब्रोकर कमिसन घटाउन सिफारिश गरेको थियो । तर धितोपत्र बोर्डले यसलाई लामो समयदेखि पेण्डिङ राखेको थियो । तत्कालीन अर्थमन्त्रीले पनि बोर्डलाई दबाब दिएनन् भने धितोपत्र बोर्डले पनि कमिसन घटाउने अग्रसरता लिएन । 

हरेक किनबेचमा लगानीकर्ताले ठूलो कमिसन बुझाउनुपर्दा किनबेचमा निरुत्साहीत हुनसक्छ । तर किनबेचमा कम शुल्क लाग्ने भएपछि स्वभाविक रूपमा कारोबार बढ्नुपर्नेमा अहिले दैनिक कारोबार करिब ३८ हजार जति संख्यामा हुने गरेको छ । यसअघि दैनिक ८७-८८ हजारको संख्यामा कारोबार हुँदै आएको थियो ।

यद्यपि, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिसन नै कम भएको अवस्थामा झन् कारोबार बढाउनुपर्ने दबाबमा ब्रोकरहरू रहेको बताउँछन्  । ‘ब्रोकरले सेयर बजारमा कृत्रिम कारोबार बढाएको र अहिले सांकेतिक विरोधस्वरुप घटाएको भन्ने आरोपमा सत्यता छैन,’ उनले भने, ‘हामीले अर्थमन्त्रीको कदमको सांकेतिक विरोध गर्नुपर्ने आवश्यक छैन ।’ अहिले राष्ट्र बैंकले सेयर धितो कर्जा कडाइ गरेपछि लगानीकर्ता नै निरुत्साहीत भएर कारोबार घटेको उनको दाबी छ । 


Author

थप समाचार
x