बीपी राजमार्गमा जथाभावी खाल्डाखुल्डी, ठेकेदारलाई सडक विभागले सोध्यो- ठेक्का किन नतोड्ने ?
काठमाडौं : बीपी राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ ।
कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको छ ।
भदौ १० मा बर्दीबास-सिन्धुली खण्ड, धुलिखेल-सिन्धुली-बर्दीबास सडक खण्ड र खुर्कोट-नेपालथोक खण्डमा खाल्डाखुल्डी पुर्ने कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता भएको मितिले असोज ३० सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो ।
विभागले पटक-पटक लिखित पत्र तथा मौखिक निर्देशनमार्फत् आग्रह गर्दा समेत कम्पनीले लामो समयसम्म निर्माण सम्पन्न गर्न कुनै चासो नदिएको विभागले जानकारी दिएको छ । विभागले सूचना जारी गर्दै भनेको छ, 'निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता किन नतोड्ने ?'
ठेक्का नतोड्नुपर्ने कुनै मनासिव कारण भएमा सात दिनभित्र स्पष्टीकरण दिन कम्पनीलाई विभागले अल्टिमेटम् समेत दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नआएमा विभागले ठेक्का तोड्न सक्ने कानुनी प्रावधान छ ।
ठेक्का तोडिएपछि विभागले सार्वजनिक खरिद अनुगमन कार्यलयलाई कालोसूचीमा राख्न सिफारिस गर्नेछ । कालोसूचीमा राखिएको कम्पनीलाई १ वर्ष कुनै पनि सरकारी ठेक्का भाग लिनबाट बञ्चित राखिने कानुनी व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया