प्रमुख समाचार

गोरखामा अब कांग्रेसको उम्मेदवार कांग्रेस नै हुन्छ : महामन्त्री थापा

इकागज |
पुस २३, २०७८ शुक्रबार १६:५७ बजे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम चुनावमा नेपाली कांग्रेस एक्लै लड्ने बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाको आयोजनामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले आम चुनावसम्म सत्ता गठबन्धन कायमै रहने तर, चुनाव एक्लै लड्ने बताएका हुन् । 

थापाले २०७४ मा कांग्रेसले समर्थन गरेर निर्वाचित भएका डा.बाबुराम भट्टराईको प्रसंग उठाउँदै भने, ‘कांग्रेसकै सहयोगमा चुनाव जितेर जानेले उल्टै कांग्रेसलाई संग्रहालयमा लगेर राख्नुपर्छ भनेर भने । अब कांग्रेसको उम्मेदवार कांग्रेस नै हुन्छ । त्यसको लागि जित्ने गरी अहिले नै तयारी गर्नुस् ।’ गोरखा २ मा कांग्रेसको उम्मेदवार अरु पार्टीको प्रतिनिधि नहुने र कांग्रेसी नै उम्मेदवार बन्ने थापाको भनाइ छ ।   


स्थानीय तहको चुनावको लागि तयारी गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।  ‘अब तीन महिनापछि त स्थानीय चुनाव हुँदैछ । त्यसको लागि अहिलेदेखि नै तयारी गर्नूस् ।’ यसपटक पहिले जस्तो ढिलो गरी उम्मेदवार चयन गर्ने काम नहुने बताए । थापाले यसपटक निर्वाचन हुनुभन्दा एक महिना अघि नै उम्मेदवार तय हुने बताए ।  

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन एक भएर अघि बढेकोले गठबन्धनका उम्मेदवारलाई जिताउन थापाले सबैलाई आग्रह गरे । गोरखा कांग्रेसले आज र भोलि दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।    


Author

थप समाचार
x