प्रमुख समाचार

गण्डकी प्रदेशमा ‘गण्डकी रत्न’ सम्मान

धनबहादुर गुरुङ |
पुस २८, २०७८ बुधवार १८:२५ बजे

पोखरा - गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ३ जनालाई यो वर्षदेखि ‘गण्डकी रत्न’ बाट विभूषित गर्ने भएको छ । त्यसका लागि ‘विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८’ पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । 

शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्‍याएका मध्ये तीन जनालाई सम्मान गरिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।


‘संसदले पास गरेको, नीति तथा कार्यक्रममा पनि पेश भएको अनि बजेट व्यबस्था पनि भएको बिशिष्ट व्याक्तिलाई सम्मान कार्यविधि बनाईएको छ,’ उनले भने, ‘त्यस सम्बन्धमा गण्डकी गण्डकीका बासिन्दाले प्रदेश भित्र रहेर विभिन्न क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाएका बढिमा ३ जनालाई सम्मान गर्ने भनेर प्रारम्भ गरेका छौं ।’ त्यसका लागि सिफारिस समितिले छनोट गरेको नामलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ । 

सिफाारिस समितिमा मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री अध्यक्ष रहने व्यवस्था छ । समितिको सदस्य सचिव आन्तरिक मामिला मन्त्रालयका सचिव रहेका छन् । अर्थमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख सचिव सदस्य रहने छन् । गण्डकी प्रदेशको सर्वाधिक ठूलो सम्मानका रुपमा प्रदेशले पारिभाषीत गरेको विभूषित हुँदाको बखतमा तक्मा र प्रमाणपत्र दिइने छ । त्यसबापत पाउने सुविधा आकर्षक छन् ।

विभूषित व्यक्तित्वलाई सार्वजनिक सभा–समारोहमा प्रदेशसभा सदस्यसरह मान्यता र सुविधा दिने व्यवस्था कार्यविधिले गरेको छ । प्रदेश सरकार मातहत रहेका अस्पतालमा निशुल्क सुविधा हुनेछ । अन्य सार्वजनिक सेवाको क्षेत्रमा पनि त्यस्ता व्यक्तिलाई प्राथमिकता दिने प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशभित्र रहेका विमानस्थलको अतिविशिष्ट कक्षको सुविधा पनि त्यस्ता व्यक्तिले पाउने छन् । 

रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ लाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । श्रमसम्बन्धी संरचना, बजेट, जनशक्ति संघ सरकारसँग थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सबै भौतिक सम्पत्ति र जनशक्ति अहिले प्रदेश सरकारलाई हस्तान्तरण भएको छ । अब प्रदेश सरकार मातहत रहने गरी रोजगार सूचना केन्द्र स्थापना हुनेछ । 
 


Author

थप समाचार
x