प्रमुख समाचार

नयाँ दिल्लीबाट पीसीआरबिनै जहाज प्रवेश-अनुमति प्रकरण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका भान्जा भएकाले निगमले कारबाही गरेन

विकास थापा |
पुस २९, २०७७ बुधबार १४:५८ बजे

निगमकाे वेभसाइट खाेल्नेबित्तिकै काेभिड-१९ बारे देखिने सूचना

काठमाडौं : कोरोना पोजिटिभ भएको व्यक्तिलाई जहाजभित्र छिराएको आरोपमा नेपाल वायु सेवा निगमले मलेशियामा कार्यरत दुई उच्च तहका कर्मचारीलाई गत पुस २० गते काठमाडौं फिर्ता बोलायो । 

मलेसियास्थित निगमको कन्ट्री म्यानेजर नरेश श्रेष्ठ र विमानस्थल प्रमुख युवराज आचार्यलाई निगमले अंग्रेजी नयाँ वर्षको पहिलो दिन केन्द्रीय कार्यालय फिर्ता बोलाउने निर्णय गरेको थियो । 


तर सोही दिन (डिसेम्बर ३०) नयाँ दिल्लीबाट ६ जना यात्रु बिनापरीक्षण काठमाडौं उतार्दा भने निगमले कुनै पनि कारबाही गरेन । कारण थियो नयाँ दिल्लीस्थित निगमको कन्ट्री म्यानेजर नारायण पौडेल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका भान्जा परेकाले । 

स्वास्थ्य मापदण्ड (प्रोटोकल) अनुसार जहाज चढ्ने जुनसुकै यात्रुको पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गरिएको हुनुपर्छ । उनीहरुलाई बिना पीसीआर परीक्षण कसरी चहाजमा चढाइयो भनेर यतिखेर निगममा खैलाबैला मच्चिएको छ ।

गत डिसेम्बर ३० (पुस १५) मा नयाँ दिल्लीबाट आएको निगमको न्यारोबडी जहाज (फ्लाइट नम्बर आरए २०५) बाट आएका यात्रुमध्ये ६ जनाको कुनै पनि परीक्षण नगरिएको काठमाडौं ओर्लेपछि थाहा भयो । 

विमानस्थल स्थित स्वास्थ्य डेस्कले भारतमा पीसीआर गरेको रिपोर्ट नलिईकन आएको थाहा पाएपछि होटेल क्‍वारेन्टिनमा पठाइएको स्वास्थ्य मन्त्रालयका सहसचिव डा. हेमन्त ओझाले बताए । उनका अनुसार ती ६ जनालाई १४ दिन क्‍वारेन्टिनमा राखेर पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि छाडिएको थियो । ‘उहाँहरुले नेपालमै पीसीआर गरेको रिपोर्ट लिएर आउनुभएको रहेछ,’ डा. ओझाले बुधबार इकागजसँग भने, ‘स्वास्थ्य प्रोटोकलअनुसार जुन देशबाट आएको हो, त्यही देशको रिपोर्ट चाहिने भएकाले क्‍वारेन्टिनमा पठाएका थियौं ।’

जहाज चढ्ने प्रत्येक व्यक्तिको पीसीआर परीक्षण भए/नभएको हेर्ने काम नयाँ दिल्लीस्थित विमानस्थलमा कार्यरत निगमका कर्मचारीको पनि हो । सोही दिन निगमको मलेसिया (फ्लाइट नं. आरए ४१६) बाट काठमाडौं आएका एकजना व्यक्ति कोरोना पोजिटिभ भेटिएको भन्दै मलेसियाका कन्ट्री म्यानेजर श्रेष्ठ र विमानस्थल प्रमुख आचार्यलाई निगमले फिर्ता बोलाएको थियो ।

ती व्यक्तिको काठमाडौं आएर परीक्षण गर्दा पनि पोजिटिभै देखिएपछि स्वास्थ्य मापदण्ड अनुसार उक्त जहाजमा आएका ५१ जनालाई क्‍वारेन्टिनमा राखिएको थियो ।
त्यतिबेला निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले इकागजसँग भनेका थिए ‘एकजनाको गल्तीले गर्दा धेरै यात्रुहरुले हैरानी पाएको, तनावमा परेकोले जनदबाव थेग्नै नसकेर कारबाही गर्न बाध्य भएको हो ।’ 

यसबाहेक निगमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै प्रतिष्ठामाथि प्रश्न उठेकाले पनि आइन्दा अन्य कर्मचारीले यस प्रकारको लापर्वाही नगरुन् भन्ने उद्देश्य रहेको पौडेलको त्यो घटनाबारे प्रतिक्रिया थियो ।

दिल्ली एयरपोर्टमा लापर्वाही गरे पनि त्यहाँका निगम प्रमुख नारायण पौडेललाई व्यवस्थापनले जोगाएर राखेको कर्मचारीको आरोप छ । पौडेल काठमाडौं छँदा कर्मचारी युनियनका अध्यक्ष पनि थिए । ‘त्यसमाथि परराष्ट्र मन्त्री ज्ञवालीका भान्जा पनि भएपछि कारबाही नभएको हुन सक्छ,’ निगमका एक कर्मचारीले इकागजसँग भने ।
यस सम्बन्धमा निगम व्यवस्थापनले कुनै प्रतिक्रिया जनाउन चाहेन । 


र, याे पनि

कोरोना पोजिटिभ भएकालाई जहाज चढाएपछि.....
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x