प्रमुख समाचार

अमेरिकाको ४६ औँ राष्ट्रपति शपथः जो बाइडन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति

ट्रम्पले लागू गरेका कतिपय अस्वाभाविक निर्णय उल्टियाे

इकागज |
माघ ८, २०७७ बिहीबार ०:५ बजे

काठमाडौँ : अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा ७८ वर्षीय जो बाइडन ह्वाइट हाउस प्रवेश गरेका छन् । उनले अमेरिकी समय अनुसार बुधबार १२ बजे संसद् भवन (क्यापिटोल हिल)मा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपतिका रूपमा बाइडनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसबाट शपथ लिएका हुन् । 

बाइडनले बाइबललाई साक्षी राखेर शपथ लिएका थिए । आफूले सिनेटर र उपराष्ट्रपतिका रूपमा शपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडनले साक्षी राखेका हुन् ।कोभिड-१९ का कारण शपथग्रहण कार्यक्रम अघिल्ला राष्ट्रपतिका कार्यकाल झै भव्य थिएन । कार्यक्रम पनि छोटाे थियो भने पाहुना पनि कमै उपस्थित गराइएको थियो । बाहिर सुरक्षा व्यवस्था पनि निकै कडा गरिएको थियो । 


बाइडनले कडा सुरक्षा घेरामा रहेर परम्परागत शैलीमा तर पहिलेको दाँजोमा निकै छोटो शपथ लिएका थिए । ‘म सम्पूर्ण रूपमा सपथ लिन्छु कि मैले बफादारिताका साथ अमेरिकाको राष्ट्रपति कार्यालय सञ्‍चालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको पूर्ण रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस्, भगवान,’ शपथमा भने।


 
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर करिब १२ सय जना पाहुनाको सहभागिता त्यहाँ थियो । सबैले स्वास्थ्य परीक्षण र आवश्यक मापदण्डसहित उनीहरू सहभागी थिए । बाइडनले शपथ खानुअघि नै अमेरिकी संसद् भवन वरपर र त्यस क्षेत्रमा ३० हजार बढी सैनिक तैनाथ गरिएका थिए । संसद् भवनमा भएको पछिल्लो आक्रमणपछि अमेरिकामा पहिलोपटक आफ्ना राष्ट्रपतिको शपथ समारोह धेरै सैन्य बल खटाइएको हो ।
 
अमेरिकीले शपथमा यति खतरा कहिल्यै अनुभव गरेका थिएनन् । दुई साता अघि बाइडनको जीतलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त सत्र चलिरहँदा हतियारसहित ट्रम्पका समर्थकले संसद् भवनमा आक्रमण गरेकाले यस्तो खतरा अनुभव गरिएको हो । उक्त हमलामा एक सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु भएको थियो ।

घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको बताएपछि यस्तो सुरक्षा प्रबन्ध गरिएको अमेरिकी सञ्‍चारमाध्यमले जनाएका थिए । 

शपथलगत्तै १५ आदेशमा हस्ताक्षर 

बारक ओबामा दुई कार्यकाल राष्ट्रपति रहँदा उपराष्ट्रपतिका रूपमा सहकार्य रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन । उनले पहिलो दिन नै पुराना केही निर्णय उल्टाएका छन् । उनी सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्ने हुनाले आम जनतालाई छुने निर्णय लिएर सकारात्मक रूपमा प्रस्तुत हुँदैन् ।

बाइडनले १५ कार्यकारी आदेश (एक्जिक्युटिभ एक्सन) मा हस्ताक्षर गरेका छन् । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका कतिपय अस्वाभाविक निर्णय उल्ट्याउन उनले त्यस्तो हस्ताक्षर गरेका हुन् । कोभिड-१९ महामारी र जलवायु परिवर्तनबारे आफ्ना प्रारम्भिक योजना लागू गर्ने उनका सहयोगीहरूले बताएको अमेरिकी सञ्‍चार माध्यमहरूले जनाएका छन् ।

महामारी, अर्थतन्त्र, जलवायु परिवर्तन र रंगभेदी असमानतासँग जोडिएका कैयन् समस्यालाई सम्बोधन गर्न त्यस्तो हस्ताक्षर गर्ने  क्रम जारी छ। अमेरिकाका केन्द्रीय निकायहरू, त्यहाँ कार्यरत कर्मचारीलाई मास्कसम्बन्धी अधिकार प्रदान गर्ने र कोभिडसँग सम्बन्धित मामिलामा समन्वय गर्न राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै एउटा नयाँ कार्यालय स्थापना गर्ने तयारी गरेका छन् ।

पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने र जलवायु परिवर्तनका समस्या समाधान गर्न व्यापक कदम चाल्ने निर्णय उनले अघि बढाएका छन् ।  ट्रम्प प्रशासन पेरिस जलवायु सम्झौताबाट बाहिरिएकोमा विश्‍वले अमेरिकालाई स‌वेदनशील हुन आग्रह गरिरहेको थियो ।

बाइडनले मेक्सिको सीमामा पर्खाल लगाउने निर्णय र मुस्लिम बाहुल्य रहेका मुलुकबाट अमेरिका यात्रामा लगाइएका बन्देज हटाइनेछन्। त्यसैगरी, ट्रम्पको कार्यकालमा ट्रान्सजेन्डर अमेरिकीहरुलाई सैनिक सेवामा लगाइएको बन्देज हटाउने र विदेशमा गर्भपतनसम्बन्धी कार्यक्रमका लागि दिइने आर्थिक सहयोग रोक्ने ट्रम्पकालीन नीतिलाई उल्ट्याउने भनिएको छ ।
 
लिइन् कमलाले उपराष्ट्रपतिको शपथ 

बाइडनलगत्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रूपमा शपथग्रहण गरेकी छिन् । चार वर्षे ट्रम्प युगको अन्त्य गर्दै बाइडन अमेरिकी राष्ट्रपति भए भने पहिलो महिला उपराष्ट्रपतिका रूपमा कमला ह्यारिसले इतिहास रचेकी छिन् । उपराष्ट्रपतिका रुपमा कमलाले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिइन् । उनले दुईवटा बाइबललाई साक्षी राखेर शपथ लिएकी हुन् । 

‘म सम्पूर्ण रुपमा शपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुविरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराका लागि सत्य, विश्वास र बफादारितामा रहनेछु । कुनै जालसाजीको हेतुले वा मानसिक दुर्भाव राखेर काम नगरी स्वतन्त्र रूपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेकी छु, त्यो कार्यालयको कर्तव्य मैले राम्ररी र इमान्दारीका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस्, भगवान,’ शपथग्रहणमा कमला भनिन् ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनकाबीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी थिइन् । उपराष्ट्रपति कमला क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ मा जन्मिएकी हुन् । उनका बुबा जमैका र आमा भारतबाट अमेरिका आएका हुन् ।

इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडनलाई नै चुनौती दिएकी थिइन् । तर उनी राष्ट्रपतिको चुनावी दौडबाट आफैं पछाडि हटिन् र अहिले  बाइडनकै उपराष्ट्रपति भइन् । 

तस्बिर :  रासस/एएफपी/एजेन्सीज


Author

थप समाचार
x