प्रमुख समाचार

ओली राम्रा कुरा सुन्‍नै सक्दैनन् : माधव नेपाल

विक्रम खड्का |
माघ १५, २०७७ बिहीबार १७:१५ बजे

बुटवल : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा राम्रो संस्कार देखाउन सक्ने चरित्र नभएको बताएका छन् । बुटवलमा बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित प्रदर्शनपछिको सभामा अध्यक्ष नेपालले राम्रा कुरा सुन्‍नै नसक्ने ओलीमा गतिलो संस्कार नभएको टिप्पणी गरेका हुन् । 

‘केपी ओलीले अगतिला कुरा मात्र बोल्न जान्‍नु भएको छ,’ नेपालले भने, ‘जहिल्यै अगाडि बढ्ने कुराको विरोध गर्नु भएको छ ।’ नेपालले ओलीलाई समयको गति बुझ्‍न नसक्ने व्यक्ति भएको आरोप लगाए । 


उनले समयको पछिपछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण आजसम्म दुःख पाएको बताए । तत्कालिन एमालेको नवौं महाधिवेशनमा ओलीले जालझेल गरेर १५/२० भोटले अध्यक्षमा जितेको समेत नेपालले बताए ।

१५ वर्ष अघि लोकतान्त्रिक आन्दोलनमा ओली सहभागी नभएको बताउँदै नेपालले बैशाखमा चुनाव गर्ने ओलीको दाबी विफल हुने बताए । ‘केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन, उहाँमा पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ,’ नेपालले भने । 

ओलीले अरुको बदख्वाईं मात्रै गर्न जानेको पनि अध्यक्ष नेपालले टिप्पणी गरे । ‘खालि बकबक गर्नु हुन्छ । उहाँलाई रिस उठ्यो भने पत्रकार, वकिललाई, न्यायाधीश सबैलाई गाली गर्नुहुन्छ । मञ्‍चमै रहेका पूर्वमन्त्री वर्षमान पुन, घनश्याम भुसाल र चन्द्रप्रकाश खनालतिर देखाउँदै उनले थपे, 'ओलीले आफ्नै मन्त्रीलाईसमेत गाली गर्दै आउनुभएको छ । त्यसको एकभारी फेहरिस्त आफूसित छ ।’


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x