प्रमुख समाचार

दाहाल-नेपाल समूहकालाई हटाएर लुम्बिनीमा ओली समूहको कमिटी पुनर्गठन

गिरी भए ओली समूहको प्रदेश अध्यक्ष

विक्रम खड्का |
माघ १६, २०७७ शुक्रबार १०:१६ बजे

बुटवल : नेकपा ओली पक्षले लुम्बिनी प्रदेशमा पार्टी कमिटीहरु धमाधम पुनर्गठन गरेको छ । आफ्नो पक्षमा रहेको नेतृत्व भए त्यसैलाई र नभए अर्को व्यक्तिलाई जिल्ला कमिटी र प्रदेश कमिटीमा जिम्मेवारी दिईएको हो । 

जस अनुसार ओली पक्षले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देहीका लिला गिरीलाई चयन गरेको छ । बुटवलमा सम्पन्‍न प्रदेश कमिटी बैठकले ओनसरी घर्तीलाई हटाएर नेकपा केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज समेत रहेका गिरीलाई प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी दिएको हो । 


उनी लुम्बिनी प्रदेशका उद्योग वन वातावरण मन्त्री पनि हुन् । सोही वैठकबाट जिल्लाको नेतृत्व पनि हेरफेर गरेको छ । कोहि साथीहरु आफ्नो समुहमा नदेखिएपछि नेतृत्व परिर्वतन गरिएको नवनियुक्त प्रदेश अध्यक्ष लिला गिरीले बताए । 

उनका अनुसार प्रदेशका १२ वटै जिल्लामा संयोजकहरु तोकिएको र त्यसकै आधारमा पछि अधिवेशन गर्ने योजना बनाइएको छ । रुपन्देहीमा साविककै शिवराज सुवेदीले संयोजकको जिम्मेवारी पाएका छन् भने सहसंयोजक तेजेन्द्र केसी तथा सचिवमा अनुप वराललाई तोकिएका छन् । 

त्यसैगरि कपिलवस्तुमा पनि पुरानै अध्यक्ष झविलाल पोखरेललाई संयोजक तोकिएको छ । सहसंयोजक डम्मर शर्मा र सचिवमा धर्म भुसाललाई थपिएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा सबै नयाँ अनुहारलाई जिम्मेवारी दिएको हो ।

जिल्ला संयोजकमा हुकुम वहादुर बस्नेत र सचिवमा मनोहर बुढाथोकीले जिम्मेवारी पाएका छन् । दाङमा पदाधिकारीहरु सबै प्रचण्ड नेपाल पक्षमा लागेका छन् । त्यसैगरी बाँकेमा पनि सुर्य ढकाललाई जिम्मेवारी दिइएको छ । बाँकेका अध्यक्ष आई पी खरेल दाहाल-नेपाल समुहमा लागेका छन् । 

ओली पक्षमा किस्मत कक्षपती सहसंयोजक र प्रमोद धिताललाई सचिव बनाईएको छ । बर्दियामा पनि लाल बहादुर श्रेष्ठले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् । सहसंयोजकमा शालिकराम अधिकारी र सचिवमा पदम ढाकाल चयन भएका छन् । 

उता प्युठानमा भने यस अघि दाहाल-नेपाल समुहमा रहेका भनिएका जिल्ला अध्यक्ष तुल्सीराम शर्मा नै ओली पक्षको जिल्ला संयोजक चुनिएका छन् । अर्घाखाचीमा साविककै चेतनारायण आचार्यले जिम्मेवारी पाएका छन् । गुुल्मीमा पनि पुरानै अध्यक्ष मधु कृष्ण पन्त संयोजक चुनिएका छन् । 

त्यस्तै पाल्पा संयोजक चुनिएका नारायणप्रसाद आचार्य पनि पुरानै अध्यक्ष हुन् । पश्चिम नपलपरासीमा ओली समुहले  दिपेन्द्र अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएका छन् । ओली पक्षले रोल्पा र पुर्वी रुकुमका लागि भने जिल्ला पदाधिकारी तोकेको छैन । पूराना नेताहरु दाहाल–नेपाल पक्षमा लागेका कारण ओली पक्ष ती जिल्लामा पर्ख र हेरको अवस्थामा देखिएको छ । प्रदेश कमिटीमा पनि सदस्यहरु मनोनित गरिएको छ । 

प्रदेस कमिटीको वैठकमा सबै जिल्लाको परिवर्तित राजनीतिक घटनाक्रम र जिल्लामा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरिएको छ । साविक लुम्बिनीमा आफुहरु वलियो देखिए पनि राप्ती र भेरीमा केहि कमजोर अवस्था रहेको नेताहरुले बैठकमा रिर्पोटिङ गरेका छन् ।

जिल्ला अध्यक्ष को कता ?

सविक लुम्बिनी अञ्चलमा ओली समूह बलियो देखिए पनि साविक राप्ती र भेरी अञ्चलमा दाहाल–नेपाल समूहको पकड देखिन्छ । लुम्बिनी प्रदेशका १२ अध्यक्षमध्ये छ जना ओली पक्षमा खुलेका छन् भने ६ जना दाहाल-नेपाल पक्षमा खुलेका छन् । 

रोल्पा : सुरेन्द्र घर्ती, दाहाल-नेपाल समूह

रुकुम  पूर्व : मेघबहादुर श्रेष्ठ, दाहाल-नेपाल समूह

नवलपरासी पश्चिम : भविश्वर तिवारी, दाहाल-नेपाल समूह

दाङ : टीकाराम खड्का, दाहाल-नेपाल समूह

बाँके : आईपी खरेल, दाहाल-नेपाल समूह

बर्दिया  ः भवनकुमार थारु, दाहाल-नेपाल समूह

रुपन्देही : शिवराज सुवेदी, ओली समूह

कपिलवस्तु : झविलाल पोख्रेल, ओली समूह

अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह

गुल्मी : मधुकृष्ण पन्त, ओली समूह

पाल्पा : नारायण आचार्य, ओली समूह

प्युठान : तुलसीराम शर्मा, ओली समूह


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x