विरेन्द्र बजार-महिनाथपुर सडक विस्तार
अदालतको आदेशविपरीत मेयरले जग्गा अधिग्रहण गरेको स्थानीयको आरोप
मेयर दास भन्छन् : ममाथि लगाएको आरोप गलत हो
जनकपुरधाम : विदेह नगरपालिकाका मेयर बेचन दासले उच्च अदालत जनकपुरको आदेश र मापदण्डविपरीत सडक निर्माणका क्रममा जग्गा अतिक्रमण गरेको आरोप स्थानीयले लगाएका छन् । मेयर दासले हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माणाधिन गर्दा निजी जग्गा अतिक्रमण गरेका हुन् । मेयरले नियमविपरीत स्थानीयको जग्गा अतिक्रमण गरेपछि वडा नं ६ का वडाध्यक्ष जयराम मण्डलको नेतृत्वमा स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
३२ किलोमीटरको सडकखण्डको सम्पूर्ण सडक र कल्भर्ट निर्माण भए पनि तिनकौरिया बजारमा विवादका कारण ४ सय मीटर सडक निर्माण हुन सकेको छैन । स्थानीयले राष्ट्रिय नमूना माध्यमिक विद्यालय र वडा नम्बर ५ का अध्यक्ष विजय यादवको जग्गा बचाउन मेयर दासले सडक नै बाँगो हुने गरी जग्गा अधिग्रहण गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।
मेयरले मनपरी रेपछि स्थानीयले उच्च अदालत जनकपुरमा हुलाकी राजमार्ग योजना कार्यालय, ठेक्केदार पप्पु जेभी, नगर प्रमुख दास, वडा नं. ६ को कार्यालय, वडाध्यक्ष जयराम मण्डलसहित १० जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । विपक्षीको नाममा २०७६ जेठ १४ गते उच्चअदालतले मापदण्ड अनुसार सडक निर्माण गर्न/गराउन सहयोग गर्न अन्तरिम आदेश जारी गरेको थियो ।
तर, मेयर दासले सो आदेश र मापदण्ड विपरित एक दर्जनभन्दा बढी स्थानीयको घर र पर्खाल बलजफ्ती डोजर लगाएर भत्काइ सडक निर्माण गर्न खोजेको आरोप स्थानीयवासीको छ । नगर प्रमुखले कानुन मिचेर सडक निर्माण गर्न खोजेकले प्रतिकारमा उत्रिएको स्थानीय राजकुमार मण्डलले बताए । उनले भने, 'निर्माण कम्पनीले बाटो बनाइरहँदा मेयर,विद्यालयका प्रधानाध्यापकलगायतका केही व्यक्तिहरू नक्साविपरीत काम गर्न दबाब दिएपछि काम बन्द भयो, त्यसपछि उनीहरू आफैले व्यवहारिक सहमति गरेर पर्खाल दिन लगाए, पछि मेयरलगायतका व्यक्तिहरूले जबरजस्ती त्यो पर्खाल पनि भत्काए, अहिले आएर अदालतको आदेशविपरीत जग्गा नै अतिक्रमण गर्न लागि परेका छन् ।'
अर्का स्थानीय मनोज कुमार गुप्ताले ३२ किलोमीटर निर्माण हुने भनिएको सडक खण्डमा सम्पूर्ण निर्माण पुरा भइसके पनि मेयर दासको दादागिरीका कारण तिनकौरियामा करिब ४ सय मीटर सडकको काम सम्पन्न हुन नसकेको बताए । विद्यालय र वडाध्यक्षको जग्गा बचाउन बलजफ्ती स्थानीयको जग्गा अतिक्रमण गर्न खोज्दा विवाद भइरहेको उनको भनाइ छ ।
स्थानीयसँगै विरोधमा उत्रिएका वडा नं ६ का अध्यक्ष मण्डलले मेयर भएको बलमा कानुन मिच्ने प्रयास भएको बताए । 'मेयर हुँदैमा कानुन मिच्न हुँदैन । मापदण्डविपरीतको कार्य हुनु गलत हो, अदालतको आदेश र मापदण्ड अनुसार काम हुनु पर्छ, अदालतको आदेश अवहेलना गर्नु पनि अपराध नै हो, त्यसैले जबरजस्ती कार्य अघि बढाइएकाले काम बन्द गराउन मेरो नेतृत्वमा विरोध भइरहेको हो,' वडाध्यक्ष मण्डलले भने ।
मापदण्ड अनुसार ३० मिटर चौडा सडक निर्माण गर्नका लागि २०६६ सालमा मुआब्जाकायम भएको थियो । घनाबस्ती भएकाले स्थानीय र सम्बन्धित निकायको सहमतिमा तत्काल १६ मिटर चौडा सडक निर्माण लागि ठेक्का स्वीकृत भइ कार्य भइरहेको थियो ।
सहमतिअनुसार मूल सडकको केन्द्रलाई आधार मानी दुवै तर्फ ८/८ मीटर जग्गा अधिग्रहण गर्नु पर्नेमा विद्यालय र वडाध्यक्ष विजय यादवको जग्गा बचाउन नगर प्रमुख दासलगायतले एकतर्फी रूपमा स्थानीयको जग्गा अधिग्रहण गर्दा विवाद भइरहेको छ ।
मेयर र स्थानीयबीच पटक-पटकको विवादले कयौं पटक सडक किनारको पर्खाल बनाउने र भत्काउने भनेपछि थप आर्थिक भार पर्ने भएपछि निर्माण कम्पनीले काम रोकेको छ । स्थानियवासीले अदालतको अवहेलना भएको भन्दै मेयरविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।
नगर प्रमुख दासले आफूले कसैको घर वा पर्खाल नभत्काएको र अदालतको आदेशलाई अवहेलना नगरेको बताउँछन् । सडक निर्माणमा देखिएका विवाद छिट्टै समाधान गरि निर्माण कार्य तिब्र बनाउने उनले बताए । 'मेयरले बलजफ्ती घर वा पर्खाल भत्काएको आरोप गलत हो, अदालतको आदेश अनुसार नै काम गर्न खोज्दा केही व्यक्तिले विरोध गरिरहेका छन् । विरोध भए पनि अदालतको सम्मान गर्दै समयमा काम सम्पन्न गराउनेछु,' मेयर दासले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया