प्रमुख समाचार

संघीयता आए पनि विभेद कायमै  छ : महन्थ ठाकुर

सुभाष कर्ण |
माघ १७, २०७७ शनिबार १९:३४ बजे

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा संघीयता आए पनि राज्यबाट विभेद जारी नै रहेको बताएका छन् । शनिबार जनकपुरमा राष्ट्रिय इन्जिनियर संघको भेलामा अध्यक्ष ठाकुरले भने मधेश जनविद्रोह र विभिन्‍न आन्दोलनपश्‍चात संघीयता आए पनि राज्य पक्षबाट विभेद कायमै रहेको बताएका हुन् । विभेद अन्त्य गर्ने विषयमा पटक-पटक सहमति भए पनि त्यो सहमति कार्यान्वयन हुन नसकेको उनले बताए । 

'पहिचान, जातीयता, लिङ्गको आधारमा वर्षौदेखि विभेद अन्त्य गर्न मधेश जनविद्रोह र विभिन्‍न आन्दोलनको क्रममा राजनीतिक सहमति भयो । त्यही सहमतिअनुसार मुलुकमा संघिय व्यवस्था आयो । तर राज्य पक्षको अलोकतान्त्रिक र गैरसंवैधानिक क्रियाकलापले जनताले संघीयताको अनुभुति गर्न पाएका छैनन्,' ठाकुरले भने । 


विभेद अन्त्य गर्न जनताले आन्दोलन गरेर संघीय संरचना प्राप्त गरे पनि शासन व्यवस्था विभेद गर्नेहरूकै हातमा पुगेको उनको भनाइ छ । ठाकुरले आफूहरू अहिले पनि संविधानको विरोधमै रहेको बताए ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय विवादका कारण अलोकतान्त्रिक र गैरसंवैधानिक तरिकाले प्रतिनिधि सभा  विघटन गरेको बरोप लगाए । उनले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताए ।

कार्यक्रममा वरिष्ठ राजेन्द्र महतोले देशमा उत्कृष्ट भनी पटक-पटक संविधान जारी गरिए पनि  शासकवर्गको बदनियतीका कारण जनता अधिकारबाट बञ्‍चित नै रहेको बताए । ७० वर्षमा जनताका माग सम्बोधन गर्न भन्दै ७ वटा संविधान आए पनि ती संविधान जनताका लागि नभइ शासक वर्गको संरक्षणका लागि मात्र उपयोग भएको बताए । 

पहिला राजा महाराजाले आफू अनुकुल संविधान ल्याउने गरेको भन्दै उनले अहिले केही मुट्ठी भरका नेता आफ्नो शासकीय संरक्षणका लागि संविधान ल्याएको आरोप लगाए । महतोले देशमा जति संविधान र व्यवस्था परिवर्तन भएपनि विचार र व्यवहारमा परिवर्तन नभएसम्म जनता समृद्ध हुन नसक्ने बताए । 

अर्का नेता शरतसिंह भण्डारीले मुलुक संविधान र व्यवस्था परिवर्तनभन्दा राज्य पक्षको मनस्थितिमा परिवर्तन हुन आवश्यक रहेको बताए । उनले फास्ट ट्र्याकमा ल्याइएको संविधानको परिणाम अहिले सबै नेपाली जनताले भोग्‍नु परिरहेको बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x