चीनले कोभिडविरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने
फाइल तस्बिर
काठमाडौँ : उत्तरी छिमेकी चीनले कोभिड-१९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा उपलब्ध गराउने औपचारिक घोषणा गरेको छ । दक्षिण छिमेकी भारतले १० लाख डोज खोप उपलब्ध गराएर लगाउन थालेको पाँच दिनपछि उत्तरी छिमेकीले पनि तीन लाख थान खोप उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपाल सरकारलाई सहयोग स्वरुप खोप उपलब्ध गराउन लागेको चिनियाँ दूतावासले पठाएको नोटमा उल्लेख छ । दूतावासले पत्रकारको जिज्ञासामा दिइएको उत्तर भन्दै त्यति मात्रामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ । चीनले उपलब्ध गराउने खोप एक लाख ५० हजार व्यक्तिलाई लगाउन पुग्नेछ । भारतले उपलब्ध गराएको खोप अग्रभाग (फ्रन्टलाइन) मा रहेर काम गरेकालाई लगाइरहेको अवस्थामा चीनले पनि सोही प्रकारको तर आफ्नो मुलुकमा उत्पादन र परीक्षण गरेको खोप उपलब्ध गराउने भएको हो ।
नेपाललाई चीनले सधै आफ्नो निकट र असल छिमेकीका रूपमा हेरेको भन्दै सहयोग स्वरुप उक्त खोप उपलब्ध गराउन लागेको दूतावासको नोटमा उल्लेख छ । छिमेकी सहकार्यको उदाहरण चीनले भूकम्पको समयमा गरेको सहयोग र सहकार्य देखाएको स्मरण गर्दै दूतावासले नोटमा भनेको छ, ‘भूकम्प होस या महामारी सबैमा हाम्रो सहकार्य रहनेछ । चीनभित्र र अन्य मित्र मुलुकहरूमा पनि खोपको ठूलो माग रहेको अवस्थामा चीनले छिमेकी नेपाललाई केही थान भए पनि उक्त खोप व्यवस्थापन गरेका छौ ।’
सिनोफर्माले तयार गरेको उक्त खोप ७९ प्रतिशत भन्दा बढी सवल रहेको र त्यो दुवै डोज लगाएपछि ९८ प्रतिशतभन्दा बढी मात्रमा एन्टीबडिज तयार गर्ने उल्लेख छ । विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको र यसको माग विश्वभर रहेकोसमेत जनाइएको छ । हाल यो खोप १३ मुलुकले मार्केटिङको लागि स्वीकृत दिइसकेको छ । यसको उपयोग पाकिस्तान, इजिप्ट, यूएई र हंगेरीमा पनि भएको नोटमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयको पत्रपछि चीनले खोप नेपाल पठाएको हो । नेपाल सरकारले चीन सरकारसमक्ष ६० लाख डोज खोपका लागि अनुरोध गरेको स्रोतले बताएको छ । खोप चीन सरकारले किस्ता किस्तामा पठाउने जानकारी दिएको पनि स्रोतको दाबी छ । नेपालमा खोप भण्डारको क्षमता कम रहेको भन्दै अडकलेर पठाउने सोच चीनले बनाएको छ ।
दूतावासको नोटमा उक्त कुरा उल्लेख नभए पनि सामुदायक स्वास्थ्यको लागि नेपाललसँग चीन मिलेर काम गर्नसक्ने उल्लेख छ । यद्यपि चीनले नेपालले कति खोप माग गरेको र कति अनुदानमा दिने उल्लेख गरेको छैन । स्वास्थ्यको क्षेत्रमा रणनीतिक सहकार्य गर्न सकिनेसमेत चीनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया