प्रमुख समाचार

थप दाइजो नपाएपछि दुई वर्षदेखि श्रीमतिलाई यातना

प्रहरी भन्छ : पटक-पटक सहमति गरायौं, मिल्ने अवस्था देखिएन

सुभाष कर्ण |
माघ २४, २०७७ शनिबार १६:६ बजे

जनकपुरधाम :  बलवा नगरपालिका-६ बनौटाकी २५ वर्षीया अनितादेवी साहलाई  थप दाइजो नल्याएको भन्दै घर परिवारले विस्थापित गरिदिएका छन् । घरबाट विस्थापित भएपछि साह न्याय खोज्दै विभिन्‍न संघ संस्थामा भौतारिरहेकी छन् । महिनौदेखि घरबाट शारिरीक र मानसिक यातना खेप्दै आएकी  साह दुई वर्षे बालक बोकेर न्याय माग्‍न विभिन्‍न संघ संस्थामा पुगिरहेकी हुन् । 

माइतसहित बिहीबँर जनकपुरमा पत्रकार सम्मेलन गर्दै थप दाइजो नदिइएको कारण श्रीमान मनिष साह, सासु र ससुरासमेतले महिनौदेखि कुटपिट गर्दै शारिरीक र मानसिक यातना दिंदै आएको उनले बताइन । 'सुरुमा थप दाइजो मागेर ल्याउ भनी यातना दिन्थे, अहिले  तिमीभन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु । तिमी यहाँबाट जाउँ भन्दै कुटपिट गर्छन,' उनले भनिन्, 'श्रीमानले मात्र होइन सासु ससुरासमेतले हात खुट्टा बाँधेर मुखमा कपडा कोचेर कुटपिट गर्ने गर्को बताइन । उनको शरीरभरि घाउखत र निलडाम देखिन्थ्यो ।'


न्यायका लागि गएको असारमा इलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जनता समाजवादी पार्टीका प्रदेश सांसदद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने सहमति भएपनि त्यो कार्यान्वयन नभएको उनले बताइन् । त्यसयता पुनः पुरानै घटना दोहोरिएपछि जिल्ला प्रहरी कार्यालयको महिला सेल र बनौटा प्रहरी कार्यालयमा उजुरी दिए पनि सुनुवाइनभएको र के भयो भनेर सोध्‍न जाँदा प्रहरीले हप्काएर पठाउने गरेको दुःखेसो उनले सुनाइन् । 

चक्रघटना गाउँपालिका पररियाका विष्णुदेव साहले तीन वर्ष अघि २०७४ साल फागुन २५ गते छोरी अनिताको बिहे गरिदिएका थिए । बिहेमा साढे १२ लाख नगद, ५ लाखको गरगहना, डेढ लाखको लत्ताकपडासहित करीब २५ लाख खर्च भएको विष्णुदेवले पत्रकारहरूसँग भने ।  बिहेको केही दिनसम्म श्रीमान श्रीमतिबीच राम्रो सम्बन्ध रहेपनि त्यसपछि थप दाइजो ल्याउन भन्दै श्रीमान मनिष, ससुरा जयनारायण र सासुले यातना दिन सुरु गरेको अनिताले बताइन । 

अनिताले भनिन्, 'थप दाइजो मांगेर ल्याउ भन्थे । त्यो कुरा मैले माइतीसँग नमाग्दा गर्भवती रहेकै अवस्थामा घरभित्रै  रस्सीले बाँधेर कुटपिट गर्थे । छोरा जन्मेपछि पनि यातना दिन रोकेनन् । अहिले  श्रीमानले तिमीभन्दा सुन्दर केटीसँग म बिहे गरिसकेछु तिमी यहाँबाट जाउ, मलाई कसैले केही बिगार्न सक्दैन भन्छन् ।'

यातना सहन नसकेपछि  अनिताले  बुवालाई टेलिफोन गरेर बोलाइन् । बुवाकै सहयोगमा गएको असार महिनामा बनौटा स्थित प्रहरी कार्यालयमा उजुरी दिइन् । त्यहाँबाट केही सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । साउन ७ गतेका दिन सांसद्‍द्वय  जानकी साह र सुरिता साहको रोहबरमा अबदेखि कुनै यातना नदिने, नागरिकता, विवाहदर्ता र बच्चाको जन्मदर्ता बनाईदिने लिखित सहमति नै भयो । तर त्यो आजसम्म कार्यान्वयन हुन नसकेको अनिताले बताइन् । 

सहमति अनुरुप नागरिकता बनाइदिन भनेपछि घरभित्र बाँधेर कुटपिट गर्दै आएको अनिताको भनाइ छ । सहमति कार्यान्वयनका लागि बनौटा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दुवैमा उजुरी दिए पनि कुनै रेस्पोन्स नपाएको अनिताले बताइन्  । अनिताका बुवा जयनारायणले भने सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक-पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरेपछि त्यहाँका सइ रविन्द्र सिंहले अब यहाँबाट समस्या समाधान नहुँने भन्दै दुई साताअघि जनकपुरमा बस्‍न पठाए । 

मनिषले अनितालाई जनकपुर भ्रमरपुरा चौक नजिक डेरा लिएर राखे । डेरामा राखेको दुई दिनपछि सम्पूर्ण गरगहना र मोबाइलसमेत लिएर फरार भए । दुई सातासम्म भोखै प्यासै रहेकी श्रीमान फर्केर नआएपछि छिमेकीको मोबाइलबाट बुवालाई फोन गरेर बोलाएको अनिताले बताइन् । 

पत्रकार सम्मेलन पश्‍चात अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा अनितालाई राखिएको छ ।

घटनाबारे जानकारी माग्दा इलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सइ रविन्द्र सिंहले आफूहरूले पटक-पटक सहमति गराउने प्रयास गरेपनि हुन सकेको बताए । उनले पछिल्लो पटक गएको साउन महिनामा एसपीकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति भएपनि त्यो सहमति कार्यान्वयन प्रयास गर्दा आफूहरूले नसककेको बताए । पारिवारिक विवाद सहमतिबाटै निकास खोजौं भनी सासु ससुरबाट टाढा बसेपछि विवाद अन्त्य हुन सोचेर केटाकेटी दुवैलाई जनकपुर गएर बस्‍न लगायौं । तर दुईपछि केटा नै त्यहाँबाट फरार भयो ।

घटना पश्‍चात केटीका बुवाले उजुरी दिए पनि केटा नै फरार भएकाले केही गर्न सकेको सइ सिंहले बताए ।

 जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले घटना बारे केही जानकारी नै नभएको बताए । 

अनिताका श्रीमानका मामा प्रदेश सांसद जानकीशरण साहलेआफूले मिलाउने प्रयास गरेपनि नमानेपछि के गर्ने भन्‍ने प्रश्‍न गरे । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x