प्रमुख समाचार

कर्णाली लोक सेवा आयोग सदस्यमा विपक्षी नेताकी श्रीमती

लक्ष्मी भण्डारी |
फागुन ६, २०७७ बिहीबार १८:५० बजे

सुर्खेत : कर्णाली प्रदेश लोकसेवा आयोगमा बिहीबार पदाधिकारीहरु नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको सिफारिसमा पदाधिकारीहरु नियुक्त भएका हुन । 
आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोजाइमा नियुक्त भएका हुन् ।  वीरेन्द्रनगर- १२ का उपाध्याय पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन् ।

 त्यस्तै आयोगको सदस्यहरुमा बसन्तीकुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्व शिक्षक शाही खार्पुनाथ-५ हुम्लाका स्थानीय हुन् । उनी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमतीसमेत हुन्। आयोगमा पदाधिकारी भागबन्डा गर्दा कांग्रेसको भागमा महिला कोटा परेको थियो । जसका कारण शाहीले श्रीमतीलाई आयोगको सदस्य बनाउने अवसर पाए ।


त्यस्तै आयोगका अर्का सदस्य खड्का पूर्व शिक्षा सचिव हुन् । उनी वीरेन्द्रनगर-४ का स्थानीय हुन्। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको रोजाइमा खड्का सदस्यमा नियुक्त भएका हुन् । सभामुख शाही प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । यसैबीच नवनियुक्त पदाधिकारीहरुले बिहीबार (आजै) पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाही, सभामुख शाहीलगायत सहभागी थिए ।


Author

थप समाचार
x