प्रमुख समाचार

नेकपा जोगाउन वामदेवले थाले परामर्श, मन्त्री पनि सहभागी

इकागज |
फागुन १२, २०७७ बुधबार ११:२८ बजे

फाइल तस्बिर

काठमाडौँ : नेकपाका उपाध्यक्ष वामदेव गौतमले तत्काल सचिवालय बैठक बस्‍न पर्ने भन्दै दुई इतरका नेताहरुसँग परामर्श थालेका छन् । उनको कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्री पनि सहभागी रहेको गौतम निकट स्रोतले बतायो । दाहाल-नेपाल र ओली कुनै खेमामा पनि नलागी गौतम बीचमा बसेका थिए ।

पार्टी फुटाउन नहुने भन्दै लविङ गर्दै पनि आएका थिए । उनले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठकको लागि सार्वजनिक आह्वान गरे लगत्तै व्यक्तिगत रुपमा फोन सम्पर्कमार्फत पहल गरेको उनी निकट स्रोतले बतायो । उनले प्रधानमन्त्रीले संविधान नै धरापमा पार्ने गरि प्रतिनिधि सभा विघटन जस्तो कार्य गरेकाले उनले तत्काल राजीनामा दिनुपर्ने भन्दै अब सचिवालयको बैठकबाट दलभित्रको अन्य निकास खोजिनुपर्ने बताए । इकागजसँगको सम्पर्कमा गौतमले भने, ‘ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक बोलाउनु पर्छ । मैले यो कुरा महासचिवसँग पनि भनिसकेको छु ।’


अर्को विकल्प तर्फ नसोची प्रधानमन्त्री ओलीले राजीनामा दिएर आफूलाई चुस्त राख्नुपर्ने उनको सुझाव छ । सचिवालयको बैठक राखेर उत्पन्‍न परिस्थितिबारे छलफल गर्नुपर्छ । ‘६६ दिन अघिको अवस्थामा फर्केर निकास दिन हामी सबै लाग्‍नुपर्छ,’ उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै तत्काल प्रतिनिधि सभाको अधिवेशन बोलाउनुपर्ने पनि उनको सुझाव छ  । कानुनको रक्षकलाई सबैले सम्मान गर्नुपर्ने भन्दै अदालतबाट आएको निर्णयले आम नागरिकलाई उत्साहित बनाएको पनि बताए । स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय भएको भन्दै उनले ‘संविधान कानून लोकतन्त्र र जनताको सर्वभौमिकता’ फेरि पनि विजय भएको बताए ।


Author

थप समाचार
x