प्रमुख समाचार

अब सांसद किनबेचको श्रृंखला चल्न सक्छ : बाबुराम

इकागज |
फागुन १३, २०७७ बिहीबार ७:२ बजे

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदमा अब सांसद किनबेचको अवस्था आउन सक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै त्यो पारित गर्न र नयाँ सरकार बनाउनका लागि सांसद किनबेचको श्रृङ्खला सुरु हुन सक्ने उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सर्वोच्चले राजनीतिक दलको कोर्टमा बल राखेकोले अब कसरी अगाडी बढ्ने विषयमा गम्भीर छलफल र बहस नगरे भोलि फेरि अर्को संकट आउन सक्ने पनि चेतावनी दिएका छन् ।


‘सुप्रिम कोर्टपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको छ। घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ’ उपचारका क्रममा भारत पुगेका भट्टराईले दिल्लीबाट ट्वीट गर्दै भनेका छन्, ‘टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून् ।’ साथै उनले यसबाट नयाँ पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेपछि अब केही दिनमा संसद बैठक बस्‍नेछ । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउन सरकारका नाममा परमादेश जारी गरेको हो । 

सर्वोच्चको फैसला लगत्तै नेकपाको दाहाल-नेपाल समूहले ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र नयाँ सरकार बनाउने छलफल थालिसकेका छन् । तर ओली पक्षले भने एकताको प्रक्रिया सुरु भएको दाबी गरेको छ । नेकपाका दुवै पक्ष आगामी सरकार बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन् । 


Author

थप समाचार
x