प्रमुख समाचार

जहाज बजारिएको जानकारी नदिने पाइलटलाई उडानमा रोक

इकागज |
फागुन १६, २०७७ आइतबार १५:१६ बजे

फाइल तस्बिर

काठमाडौं : नेपाल वायु सेवा निगमले धावनमार्गमा हवाइजहाज बजारिएर अवतरण गरेको (हार्ड ल्यान्डिङ) बारे जानकारी नगराउने पाइलटहरूलाई कारबाही गरेको छ । २२ पुसमा दोहाबाट काठमाडौँ आएको आर ए २४० नम्‍बरको उडान काठमाडौँमा अवतरण गर्ने क्रममा 'हार्ड ल्यान्डिङ' भएको थियो । तर यो विषय करिब एक महिनापछि (२७ माघ) निगमले मात्रै फ्‍लाइट डाटा एनलाइसिस मार्फत पत्ता लागेको थियो ।

निगमले निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए । उनीहरूलाई गत बुधबारबाट नियमित उडानमा रोक लगाएको छ ।निगमले यो घटनामा संलग्‍न पाइलटहरूलाई गत बुधबारदेखि नियमित उडानमा रोक लगाइसकेको छ । उनीहरूले 'म्यान्डेटरी अकरेन्स रिपोर्ट' मार्फत जानकारी गराउनुपर्नेमा त्यसो नगरेको निगमले स्पष्ट पारेको छ । समयमा जानकारी नगराएपछि उनीहरूलाई कारबाही गरेको निगमले बताएको छ ।


गत साता मंगलबार निगमले आकष्मिक अवतरण भएको विषयमाथि छानबिन गर्न समिति गठन गरेको छ । घटना भएको करिब ३ महिनापछि निगमले छानबिन प्रक्रिया अघि बढाएको हो । यो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गरेको थियो । उताबाट दुई महिनासम्म उडान गर्न समस्या नहुने तर यस अवधिमा निश्चित चेकजाँच गर्नुपर्ने जानकारी आएको निगमले जानकारी दिएको छ । सोही अनुसार जहाज नियमित उडानमा रहेको निगमले स्पष्टिकरण दिएको छ ।

अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न समिति गठन गरेको छ । क्याप्टेन युवराज कुमार भद्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति बनेको निगमले जानकारी दिएको छ । हार्ड ल्यान्डिङका क्रममा हवाईजहाजमा क्षति पुग्‍न जोखिम हुन्छ । सामान्‍यतया: हावाले ठक्‍कर दिँदा वा पाइलटको लापरवाहीका कारण हार्ड ल्यान्डिङ हुनेगरेको विज्ञहरू बताउँछन् ।  


Author

थप समाचार
x