प्रमुख समाचार

'ओलीका नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

इकागज |
फागुन १६, २०७७ आइतबार १६:४१ बजे

फाइल तस्बिर

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप मान्‍न आवश्‍यक नभएको बताए ।  ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा गर्दै झुट र भ्रमको खेती गरेको बताएका हुन् । प्रधानमन्‍त्रीले ह्वीप नमान्‍ने कुनै पनि सांसदलाई हटाउन नसक्‍ने उनको दाबी छ ।  सांसदलाई निकाल्नको लागि पार्टीको केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको र उक्त  कमिटीले प्रधानमन्त्री ओलीलाई यस अघि नै एक प्रकारको कारबाही गरिसकेको उनले बताए । 

‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु । उहाँलाई हटाउँछौ अब हामी । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौं हामी यो बुझिराख्नुस्,'  आइतबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले भने, 'मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्‍ने कुरा झुट, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भनेर ढाट्ने कुरा रहेछ । दलका नेता कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुईतिहाई सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’


पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार दाहाल-नेपाल समूह स्वत्ः आधिकारिक पार्टी रहेको रावलको दाबी छ ।  निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत देखाइदिने पनि बताए । नेकपाको विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाइ छ । 


Author

थप समाचार
x