प्रमुख समाचार

रेग्मीलाई चाहिएन कूटनीतिक प्रशिक्षण, पुगे बेलायत

इकागज |
फागुन १८, २०७७ मंगलबार २०:३२ बजे

काठमाडौँ : कूटनीतिक प्रशिक्षणबेगर नै पूर्वमूख्य सचिव लोकदर्शन रेग्मी नेपालको सबैभन्दा पुरानो कूटनीतिक नियोगको जिम्मेवारी सम्हाल्न लण्डन पुगेका छन् । सरकारले सञ्चालन गरेको महत्वपूर्ण कूटनीतिक प्रशिक्षणमा नै सामेल नभए पनि कुनै प्रति प्रश्‍नबिना उनी लण्डन पुगेका हुन् । 

उल्टो प्रधानमन्त्रीको कार्यालयबाट पत्रपत्रिकामा आएका कुराले कुनै अड्चन नहोस भन्‍ने आदेश परराष्ट्र मन्त्रालयले पाएपछि हतारमा उनको सबै प्रक्रिया पूरा गरेर बेलायत पठाएको परराष्ट्रका एक अधिकारीले बताए । 


परराष्ट्र मन्त्रालयको निर्देशनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नियुक्त हुने हरेक राजदूतलाई प्रशिक्षण दिने गर्छ । प्रशिक्षणमा सामेल राजदूत सिफारिस भएको अग्रिमा (सहमति) नआएका उदाहरण पनि छन् । रेग्मीको हकमा सहमति आइसकेको थियो । नियुक्ति प्रक्रिया पनि अघि बढेको थियो । 

तर पनि उनी प्रशिक्षणमा सामेल भएनन् । यस्तो केसमा पनि उनलाई परराष्ट्र मन्त्रालयले प्रश्नसमेत सोध्‍न सकेन । कूटनीतिक प्रशिक्षण र अन्य अनुभवबिना उनी नेपालकै पुरानो दूतावासलाई नेतृत्व दिन लण्डन पुगेका हुन् । 

परराष्ट्र मन्त्रालयमा त्यस्तो प्रशिक्षण दिइएको थियो । मन्त्रालयमा प्रशिक्षण लिन जाँदा ओझ घट्ने सोच वा कहि पनि केही प्रस्तुती नदिएका कारण उनी सहभागी नभएको उनी निकट एक उच्च अधिकारीले बताए । गत माघ ४ देखि ६ सम्मको छोटो प्रशिक्षणमा उनीसँगै सिफारिसमा परेको पूर्वअर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा र अर्का डा. निर्मलकुमार विश्‍वकर्मा प्रशिक्षणमा सहभागी थिए । उनीहरूको गत असोज १५ मा सिफारिस भएको थियो । कत्तिक २७ मा संसदीय सुनुवाइ सकेर अग्रिमाको लागि पठाइसकिएको थियो ।
 
इकागजले उनी प्रशिक्षणमा सहभागी नभएको समाचार लेखेपछि आफूलाई असहज पार्ने काम परराष्ट्रका अधिकारीले गरेको भन्दै उल्टै परराष्ट्र कर्मचारीहरूसँग उनले रातोमुख गरेका थिए । राजनीतिक तहसँग लाइन मिलाएका उनीसँग निरिह कर्मचारीले कुनै प्रतिक्रिया दिएका थिएनन् । परराष्ट्रका एक अधिकारी भन्छन्, ‘बाहिरबाट जानेले हामीसँगै रातोमुख गर्दा सहज पक्कै नहोला । तर, पनि दुईपक्षीय सम्बन्धको कारण सहकार्यमा कमी भने गर्दैनौँ ।’

उनले आफ्नो अग्रिमा नआएको भनेर ढाँटेका समेत थिए । तर उनी प्रशिक्षणमा जानुपर्ने दिनको भोलिपल्ट राष्ट्रपतिबाटै नियुक्ति हुँदा उनी अवाक भएका थिए । उनी दुई दिन अघिमात्र बेलायत गएका हुन् । जानुअघि पनि उनले कुनै प्रशिक्षण लिएनन् । परराष्टले पनि उनलाई खासै प्रशिक्षण दिन चासो देखाएन ।
 
मुलुकअनुसार नेपालको प्राथमिकता, सम्बन्धित मुलुकको परम्परा, प्रोटोकलमा अपनाउनुपर्ने सतर्कता, कूटनीतिमा गर्न सकिने कार्य र लविङ पक्षलगायतको कार्य र वार्ताको विषयमा क्षेत्रगत विज्ञहरू सहभागी भएर प्रशिक्षण दिन्थे । जुन विश्वभर चल्ने परम्परा पनि हो । बिना प्रशिक्षण जाँदा त्यहाँ गर्ने कार्यको बारेमा खासै ज्ञान हुँदैन । 

बेलायतमा राजदूत हुने व्यक्ति कूटनीतिक डिलिङमा मात्र होइन अंग्रजीमा पनि उत्तिकै काविल हुनुपर्छ वा काविल दोभाषे लिएर जानुपर्ने हुन्छ । तर उनी न दोभाषे न त त्यसमा काविल नै रहेनछन् भन्दै परराष्ट्रका अधिकारीहरूले उनको नेतृत्व क्षमतामा नै प्रश्‍न उठाएका छन् । प्रधानमन्त्रीलाई रिजाएकै कारणले पुरस्कारस्वरुप उनले पद पाएकाले अन्यलाई खासै नगनेको परराष्ट्र अधिकारीहरू बताउँछन् । 

र यो पनि 

रेग्‍मी बेलायतका लागि नेपाली राजदूत नियुक्त 

रेग्मीद्वारा कूटनीतिक प्रशिक्षण अस्वीकार 

 


Author

थप समाचार
x