प्रमुख समाचार

सरकार-विप्लव समूहको वार्तापछि कुमारकी दिदीले भनिन्- घोर अन्याय भयो

इकागज |
फागुन २०, २०७७ बिहीबार १३:८ बजे

काठमाडौँ : प्रहरी 'इन्‍काउन्‍टर'मा मारिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलकी दिदीले सरकार र विप्लव समूहबीच वार्ता चलिरहँदा असन्तुष्‍टि जनाएकी छन् । बुधबार सरकार-विप्लव समूहबीच वार्ता चलिरहँदा कुमारकी दिदी लक्ष्मी पौडेलले सामाजिक सञ्‍जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् ।

लक्ष्मीले कुमारमाथि घोर अन्याय भएको पनि उल्लेख गरेकी छन् । 'आज वार्ताको टेबुलमा बस्दा तिम्रो न्यायका लागि कुनै शर्त त्यहाँ राखिएको छैन् 'लक्ष्मीले लेखेकी छन् 'तिम्रा सुकुम्बासी जनताका जायज माग पनि राखिएका छैनन् । थियो भने कतै तिम्रो नाम देखिन्थ्यो ।’


लक्ष्मीले एकमुठी प्राण रहेसम्म कुमारको न्याय र सपनाको लागि लड्‍ने उल्ल‍ेख गरेकी छन् । त्यसका लागि कुमार जसरी मर्नु परे पनि पछि नहट्‍ने उनले लेखेकी छन् । 'तिम्रो न्यायमाथि घात भयो भने घात गर्नेहरूसँग लड्‍ने साहस पनि राख्‍न सक्‍ने आँट छ हामीसँग' उनले लेखेकी छन् 'पैसा र पावर मात्र ठूलो कुरा होइन याद रहोस् ।'

'हाम्रो एक थोपा रगत र एक मुठी प्राण भएसम्म तिम्रो न्याय र तिम्रो अधुरो सपना पूरा गर्न अठोट लिएर हिँडिरहेछौँ । फेरि तिमीजस्तै मर्नु परे पनि हामी पछि हट्ने छैनौं’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन् ‘सर्वहारा सकुम्‍बासीको प्रिय नेता मेरो भाइ कुमार तिम्रो अदम्य साहसलाई मेरो सलाम । तिमीले न झुक्न जान्यौ, नत बिक्न जान्यौ, जान्यौ त केवल इमानदार हुन जान्यौ । तिम्रो इमान्दारिता तिम्रो पार्टीभित्रका केही व्यक्तिलाई अपाच्य भयो । तिम्रो मृत्यु हुनु ८/९ महिनादेखि तिमिप्रति तिम्रा सहकर्मीले गरेको व्यवहार मैले नजिकबाट हेर्ने बुझ्‍ने मौका पाएको थिएँ र तिमिलाई बारम्बार सचेत पनि गराउँदै थिएँ । तिमि इमान्दार भएर काम गर्ने तर तिमिलाई सिध्याउने नै योजना  रहेछ । त्यो कुरामा हामी परिवार अनविज्ञ थियौँ र त तिमिलाई बचाउन सकेनौँ ।'

आज बिहान मात्रै सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।

सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् ।


Author

थप समाचार
x