प्रमुख समाचार

हामी कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छौँ : नेपाल

इकागज |
फागुन २०, २०७७ बिहीबार १९:४ बजे

काठमाडौँ : नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा वर्तमान आयोजित राजनीतिक संकट र त्यसको समाधान विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले आफूहरू कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।

वर्तमान राजनीतिक समस्या समाधान गर्न आफूहरू बाधक नबन्‍ने भन्दै उनले मिलेर जान जुनसुकै विकल्पको निम्ति पनि आफुहरू तयार रहेको बताए ।  प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरू एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प नभएको उनको भनाइ छ । उनले भने– ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्‍न चाहान्छु, बैठक बसौँ । सहकार्य गरौँ । खुल्ला रूपमा छलफल गर्न तयार छौँ । कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्सनको निम्ति हामी तयार छौँ ।’नेपालले आफूहरू बाधक र समस्या नभएको बताए । 


कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका लागि निर्वाचन आयोगले निष्पक्ष रूपमा नेकपा विवाद निरुपण गर्नुपर्ने बताए । प्रतिगमनविरुद्ध अघि बढेका शक्तिहरूले सहमती गरेर सरकार गठन गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री को भन्‍ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए । 

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीसाथ ओली बाहेकका शक्तिहरू मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए । उनले भने– ‘केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यस निम्ति हिजो संसद् पुर्नवहाली हुनुपर्छ भन्‍ने शक्तिहरू सबै मिल्नु पर्छ । समस्याको समाधान निर्वाचन नै हो । निर्वाचन गर्ने सहमतीमा अगाडी बढ्ने अबको विकल्प हो ।’


Author

थप समाचार
x