कर्णालीका 'हटारु' भन्छन् : घ्यू लिएर जान्थ्यौँ, नुन बोकेर फर्कन्थ्यौँ
काठमाडौँ : वीरेन्द्रनगरको रमणीय स्थल बुलबुले तालको छेउमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विगतमा डोको बाकेर भोट जाने गरेको अनुभव सुनाउँदा दर्शकहरु दंग थिए । उनी आफ्नो जीवनकालमा दुईपटकसम्म हाट गएको बताए । उतिबेला बाटो घाटो थिएन गाउँमा पसल थिएनन् , नुन र उन अथार्त दैनिक उपभोग्य सामान किन्नको लागि कर्णालीबासीहरु लामो दिनसम्म पैदल हिडेर नेपालगञ्जसम्म पुग्थे ।
महिना दिनसम्म हिडेर नुन किन्न जाँदा कयौँ रातहरु बाटोमै बस्ने बाध्य हुन्थे । घर आइपुग्न लामो समय लाग्ने भएकाले साथमा सातु, मकै र रोटी लिएर जान्थे र विभिन्न अवरोध पार गर्दै घरको लागि चाहिने सामान किनेर फर्कँन्थे । यही सामान किन्न जाने प्रचलनलाई ‘हाट जान्या, भोट जान्या’ शीर्षकमा आफ्ना विगतका कथालाई कोट्याउदै थिए सभामुख शाही । ‘मेरो जिवनकालमा दैलेखबाट दुईपटकसम्म हाट गएको छु,’ ऋति फउण्डेसनले आयोजना गरेको कर्णाली उत्सवमा शाहीले भने, ‘निगालोको डोको बोकेर मालुको पातमा घ्यू बोकेर जान्थ्यौँ र नुन बोकेर फर्कन्थ्यौँ,' शाहीले भने, ‘साइत हेरेर पुरै गाउँका गाउँलेहरू मिलेर भारी बोकेर जान्थ्यौँ ।’
उतिबेला काठका पुलहरू तरेर यात्रा गर्नुपरेको सभामुख शाहीले बताए । ‘कुनै नदीमा पुल नहुँदा डुंगामा बसेर नदी पार गर्नुपर्थ्यो,' उनले भने, ‘यसरी छालहरू पार गर्दा अर्काे जुनि नै पार गरियो जस्तो लाग्थ्यो ।’
डोल्पाका समाजसेवी धनराम बुढाथोकीले पनि जीवनकालमा धेरैपटक हाट र भोट गएको अनुभव सुनाए । घरबाट हाट र भोट जाँदा महिना दिन लगाएर घर फर्कँदाका बाध्यता सुनाए, दुख सुनाए । ‘यसरी गाउँले मिलेर हाटमा नुन र उन साटासाट गर्थ्यौँ,’ उनले भने, ‘सुन भन्दा मंहगो हाम्रो लागि नुन र उन थियो ।’ उनले खाली खुट्टा पैदेल हिड्दाको दुःखदायी अनुभव पनि सुनाए ।
उनका यी विगतका अनुभव अहिले एकादेशको कथा जस्तै भएको छ । नुन ल्याएर खान महिनादिन लाग्ने त्यो अवस्था अहिले बाटोघाटोको विकाससँगै घरदैलोमै पुग्दा उनी अचम्मित छन् । यतिसम्मकी उनले यति छिट्टै यस्तो विकास होला भनेर कल्पनासमेत गरेका रहेनछन् ।
‘अब हाट जाने हरायो’ उनी भन्छन्, ‘अब त घर दैलोमै सामान पाइन्छ । हेर्दा हेर्दै अचम्म लाग्छ अब दुःखका दिन गए ।’ त्यतिबेला हटारुमा महिलाको तुलनामा पुरुष नै बढी जाने गरेको उनले बताए ।
मानवशास्त्री जनक राई अन्य पहाडी जिल्लामा पनि हाट जाने परम्परा भए पनि कर्णालीले भिन्न विशेषता बोकेको बताउँछन् । ‘यसले सामाजिक सम्बन्धलाई बलियो बनाउन सहयोग गरेको छ’ उनी भन्छन्, ‘कर्णालीका हटारुहरूको इतिहास महत्वपूर्ण छ । कार्यक्रमको संयोजनकर्ताको भूमिकामा पत्रकार नगेन्द्र उपाध्याय थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया